• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जसपा सप्तरी जिल्ला इन्चार्ज बादलको निधन, अध्यक्ष यादवद्वारा शोक व्यक्त 

जसपा सप्तरी जिल्ला इन्चार्ज बादलको निधन, अध्यक्ष यादवद्वारा शोक व्यक्त 
न्यूज टुडे
राजविराज, १० मंसिर ।
जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश समिति सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज बादल यादवको निधन भएको छ । सिरहा नगरपालिका १२ निवासी यादवको ७६ बर्षको उमेरमा आइतबार विहान ४ बजे आफ्नै निवासमा निधन भएको हो ।
शनिबार साँझ सकुशल खाना खाएर ओछ्यान लागेका यादव आइतबार विहान ४ बजेतिर स्वास्थ्यमा समस्या आएपछि तत्कालै निधन भएको परिवारिक श्रोतबाट थाहा भएको छ ।
स्वर्गीय यादवको पार्थिव शरीरमा जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् मधेश प्रदेश इन्चार्ज मृगेन्द्र कुमार सिंह यादव, मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादव, मुख्यसचिव दिनेश कुमार यादव, सप्तरी जिल्ला अध्यक्ष केदार प्रसाद यादव, लगायतका नेताहरूले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । यसैगरी प्रतिनिधिसभा सदस्य एवम् पुर्व मन्त्री लिलानाथ श्रेष्ठ, सिरहा नगरपालिकाका प्रमुख डा. नवीन यादव, नागरिक अभियानता रामरिझन यादवलगायतका विभिन्न पार्टीका नेताकार्यकर्ता एवम् उच्च पदस्थ व्यक्तित्वहरुले श्रद्धाञ्जली व्यक्त गरे ।
स्वर्गीय यादवको पार्थिव शरीरमा पार्टीले अन्तिम श्रद्धाञ्जली दिएपछि आइतबारै अन्त्यष्टि गरिएको जसपा सिरहाका अध्यक्ष अशोक यादवले जानकारी दिए ।
यसैगरी यादवको निधनप्रति जनता समाजवादी पार्टी नेपाल सप्तरीले गहिरो दुख व्यक्त गरेको छ । जिल्ला अध्यक्ष केदार प्रसाद यादवले आइतबार एक शोक बक्तव्य जारी गर्दै जिल्ला इन्चार्ज यादवको निधनले पार्टीमा अपुरणिय क्षति पुगेको भन्दै गहिरो दुख व्यक्त गरेको छ ।
पार्टीले एक शालीन, अनुभवी प्रतीभाशाली नेता गुमाउनु पर्दा पुरै पार्टी पंक्ति शोकमा डुबेको जसपा सप्तरीद्वारा जारी शोक बक्तव्यमा उल्लेख गरिएको छ ।