• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथले बुझायो ज्ञापनपत्र

प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथले बुझायो ज्ञापनपत्र
न्यूज टुडे
राजविराज, १० मंसिर ।
सप्तरी युथ नेपालले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग राखी जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री र राजविराज नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । प्रतिष्ठान निर्माण तर्फ सरकारले कुनै चासो नदेखाएको भन्दै राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख इसरत परविन र प्रमुख जिल्ला अधिकारी किरण थापालाई आइतबार ज्ञापनपत्र बुझाएका हुन् ।
सप्तरी युथ नेपालको ज्ञापनपत्र बुझ्दै कार्यबाहक नगरप्रमुख इसरत परविन । फोटो:न्यूज टुडे
ज्ञापनपत्र बुझ्दै कार्यबाहक नगरप्रमुख परविनले युवाहरुले उठाएको माग जायज रहेको बताउँदै सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
यसैगरी प्रजिअ थापाले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको कार्य सुचारु गर्ने बारे प्रधानमन्त्री कार्यालयसहित सम्बन्धित निकायमा तुरुन्तै पठाउने  प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सुचार गर्नुपर्ने माग अघिसारिएको सप्तरी युथले बुझाएको ज्ञापनपत्रमा शान्तिपूर्ण ढंगले माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
सप्तरी युथ नेपालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठान निर्माणको माग राखी विभिन्न चरणवद्व सात दिने संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।
 सत्येन्द्र यादवको संयोजकत्वमा मुस्तकिम आलम, अनिल कुमार यादव, सुरज कुमार यादव, संजय कुमार साह, राकेश कुमार यादव, लालु ठाकुर, रोशन साह, श्याम माझी, ओम कर्ण र एकबाल हुसैन सदस्य रहेको आन्दोलन परिचालन समिति गठन गरि संघर्षमा उत्रिएका छन् ।
आन्दोलन अनुसार मंसिर १० गते आईतबार जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने, ११ गते सोमबार ¥याली प्रदर्शन गर्ने, १२ गते मंगलबार सिटी जुलुस प्रदर्शन गर्ने, १३ गते बुधबार दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, १४ गते बिहीबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा १ घण्टा धर्ना दिने र १५ गते शुक्रबार–जिल्ला प्रशासन कार्यालयको मूल गेटमा २ घण्टा धर्ना दिने  कार्यक्रम रहेको छ ।
एक हप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए बैठक बसेर पुनः अर्काे चरणको आन्दोलन घोषणा गर्ने सप्तरी युथका कार्यबाहक अध्यक्ष मोहन यादवले बताए ।
प्रतिष्ठान निर्माणको माग गर्दै निर्माण स्थल राजविराज स्थित १० विरोलमा ४४ दिनेदेखि स्थानीयबासीहरु रिले अनशन बसेकाका छन् । स्थानीयको अनशनप्रति सरकारले कुनै चासो दिएको छैन ।