सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित लोहजरा दह बाह्य तथा आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । प्राकृतिक मनोरम दृश्यले भरिपुर्ण ऎतिहाँसिक महत्व बोकेको लोहजरा दह पर्यटकीय क्षेत्र एवम् वनभाेजकाे लागि लाेकप्रिय वन्दै गएको हो ।
दहको विच भागमा अबस्थित ठाकुरबाबा मन्दिर । फोटो: न्यूज टुडे
सप्तरीको पहिचान एवम् धराेहरकाे रुपमा चिनाउने लाेहजरा दहकाे संरक्षण , सम्वध्दर्न तथा सौन्दर्यीकरण अभिवृद्धि गर्न सरकार तथा सरोकारवालाको सक्रियतामा कमि देखिएकाे स्थानीयहरु बताउँछन् ।
याे दहमा माछा र चराचुरुङ्गी संरक्षण गर्न सकिए पर्यटकहरुको मन लाेभ्याउन र आम्दानीकाे श्राेत बढ्नुको साथसाथै त्यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने उनीहरुको भनाइ छ ।
दहमा माछा पालन गर्न ५ वर्षको लागि १५ लाख ५२ हजारमा ठेका दिएको स्थानीयले बताए । त्यही आम्दानीवाट मन्दिरको समेत विकास गर्दै आएको ठाकुरवावा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुरेश कुमार यादवले जानकारी दिए ।
नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले २०७२ सालमा नेपाली सेनाद्वारा मर्मत सम्भार भएपछि यसको उद्घाटन गरेका थिए । राष्ट्रपति चुरे तराई मधेस विकास संरक्षण समितिद्वारा दहकाे चारैतिर घेरवेर समेत गरिएको थियोे ।
कूल क्षेत्रफल ११ .९ हेक्टर जग्गामा फैलिएको यस आसपासको क्षेत्रमा संरक्षित वन तथा तालको सौन्दर्यीकरणले जोकोहीको मन तानिने गरेको ठाकुर बाबा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यादवले बताए।
“दह निकै मनमोहक रहेकाले यहाँ आउने जोकोही पनि मोहित हुने गरेका छन्, उनले भने, याे दहकाे विकास गर्न संघीय सरकार र प्रदेश स्तरीय याेजनाले मात्र सम्भव हुने भएकोले यसतर्फ ध्यानाकर्षण हुनु जरुरी छ । “
विशेष गरी जाडाे समयमा जिल्लाभित्रकै सर्वसाधारण दहलाई हेर्न ,वनभाेज खान एवम् मनाेरंजन गर्न आउने गरेको स्थानीय रविन्द्र यादवले वताए
पछिल्लो समय यो दहमा पिकनिक खान तथा घुम्न आउनेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको उनले बताए । विशेषगरी भारतकाे नयाँ वर्ष तथा जाडो याममा पिकनिक खान तथा घुम्न आउनेहरुका कारण यो दह अझै प्रसिद्ध बन्दै गएको स्थानीयहरु बताउँछन् ।
यस क्षेत्रमा जाडो समयमा शैक्षिक भ्रमण, अवलोकन भम्रण गर्न कर्मचारी, विद्यार्थी तथा अन्य पर्यटक, युवायुवती मनोरञ्जनका लागि आउने गरेको स्थानीयवासी श्याम यादवले बताए ।
तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रमानन्द चौधरीका अनुसार ठाकुरबाबाका रुपमा चिनिएको यो दह प्राकृतिक रुपमा सुन्दर र दृश्यले भरिपूर्ण छ । दहकाे उत्तरपट्टीको भागमा हरियो जङ्गलभित्र पिकनिक अर्थात वनभोजका लागि सुविधा सम्पन्न सेडहरु निर्माण गरिएको उनले बताए ।
सप्तरी सदरमुकाम राजविराजको हुलाकी सडकखण्डदेखि कञ्चनपुर रोड हुँदै करीब १३ किलोमिटरको दुरिमा रहेको लोहजारा दह अर्थात ठाकुरबाबा तालले ११ दशमलव ९ किलोमिटर क्षेत्रफल ओगटेको छ । चुरे जङ्गलको ८३ दशमलव १३ हेक्टर क्षेत्रफलसँग जोडिएको तालमा विभिन्न जातका माछाहरुले पर्यटकलाई लोभ्याउने गरेको छ ।
दहमा रहेको ठाकुर बाबा मन्दिर, डुङ्गा सवारी, विभिन्न प्रजातीका पंक्षीहरु र त्यहाँका मनोरम वातावरणले जो कोही लठ्ठिने गरेको वडाध्यक्ष चौधरीले वताए ।
पछिल्लो पटक प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालय र तिरहुत गाउँपालिकाको सहयोगमा भौतिक पूर्वाधार तथा सौन्दर्यीकरणको काम सम्पन्न भएको वडाध्यक्ष चौधरीले बताए ।
उनका अनुसार सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रवेशद्वारदेखि मन्दिरसम्म पुग्ने बाटो निर्माण तथा टायल्स जडान कार्य भएको छ भने गाउँपालिकाको तर्फबाट भवन निर्माण, प्रवेशद्वार लगायतका कार्यहरु अन्तिम चरणमा पुगेको छ । हाल निर्माण भएका संरचना तथा सौन्दर्यीकरणले दहको सौन्दर्यतामा रौनकता थपिएको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।
ग्रामीण भेगमा अवस्थित रहेकाे दहले पर्यटनको विकासबारे विचार गर्दा ग्रामीण क्षेत्रको आर्थिक विकाससम्बन्धी योजनाहरूको कार्यान्वयनमा जाेडदिनु आवश्यक रहेकाे स्थानीयको भनाई छ ।
“त्यसका लागि खास गरेर कृषिको आधुनिकीकरण गर्नु , ग्रामीण क्षेत्रमा आर्थिक विकासको लागि सरकारी स्तरबाट विभिन्न योजनाहरू लागू गर्न प्रयत्न गर्नुका साथै जनस्तरमा पनि त्यो क्षेत्रमा विकासका कार्यहरू अगाडि बढाउन प्रोत्साहित गर्ने र सहयोग गर्ने सरकारको नीति हुनुपर्दछ, एक स्थानीयले भने, गाउँपालिकाले ग्रामीण पर्यटनको विकासका लागि कुनै ठोस योजना बनाएको छैन, दिगो र दीर्घकालीन पर्यटन बिकास गर्न सहर देखि गाउँगाउँ सम्म ग्रामिण पर्यटन, स्थानीय प्रबिधि र साधनमा प्राथमिकता दिनुपर्छ ।”
स्थानीय तहले यसमा प्रतिबद्धता, इमान्दारी र संवेदनशीलता प्रदर्शन गरी सबैको तर्फबाट जवाफदेही बन्ने हो भने पर्यटन क्षेत्रले अग्रगामी छलाङ मार्नुका साथै आर्थिक बिकासमा उच्च योगदान पुग्ने एक स्थानीयले वताए ।
पर्यावरण र संस्कृति पनि यहाँका चिनारी हुन् । दह रहेको लोहजराले सजिलै पर्यटकलाई लोभ्याउँछ, उनले भने गाउँको रहनसहन, खेती प्रणाली र पर्यावरण सौन्दर्य बिग्रन नदिन चुरे संरक्षण हुनु जरुरी छ ।
दहमा धार्मिक आस्था गाँसिएकोले सडक तथा पूर्वाधार विकास गर्नसके दहमा उल्लेखनीय पर्यटक भित्र्याउन सकिनेछ ।
“दहकाे अपेक्षित विकासका काम हुन सकेको छैन, बजेट, स्रोतसाधनको कमी छ, एक स्थानीयले भने ,राज्यका निकायले लगानी बढाए यहाँका सयौं जनताहरुले रोजगारीको अवसर समेत पाउने छन् । “