लैंगिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीमा ऎक्यवद्धता भन्ने मुला नाराका साथ सप्तरीमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको छ । राजविराज स्थित गजेन्द्र चौकमा शनिबार आयोजित एक समारोहका विच अभियानको शुभराम्भ गरिएको हो ।
राजविराज नगरपालिकाकी कार्यबाहक मेयर ईसरत परविन, प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी उपरीक्षक गजु शिद्धी बज्राचार्यले एक समारोहका विच महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुभराम्भ गरे । कार्यक्रममा बिभिन्न संघसंस्थाका र अधिकारकर्मीहरुले घरदेखि कार्य क्षेत्रसम्म महिलामाथि हुने हिंसा अन्त्यका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिदै लैंङ्गक हिंसा विरुद्धको १६ दिने अभियानको सफलताको शुभकामना व्यक्त गरे । अधिकारकर्मीहरुले हिंसाको अन्त्यका लागि सबैभन्दा पहिला घर–घरबाट पाइला चाल्नु पर्ने आबश्यकता औल्याए ।
कार्यक्रममा बोल्दै प्रजिअ किरण थापा । फोटो: न्यूज टुडे
महिला बालबालिकामाथि हुने मानवताविरोधी हिंसा मेलमिलाप मार्फत मिलाउने कार्य अन्त्यका लागि सरकारले ल्याएको नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा उनीहरुको जोड थियो ।
लैंङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत पीडितलाई सहयोग, कानुनी शिक्षा, र्याली, अन्तरक्रिया, सम्वाद, बालविवाह विरुद्ध अन्तरपुस्ता सम्वाद, बक्तृत्वकला, चित्रकला, कविता प्रतियोगिता, सडक नाटक प्रदर्शन,फलफूल वितरण, सरसफाई, पीडितलाई हौसला प्रदानलगायतका कार्यक्रम तय गरेको परिकल्पना नेपालकी अध्यक्ष सुधा देवले जानकारी दिइन् ।
यस अघि अभियानको शुभराम्भको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।