साधारणसभामा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो: न्यूज टुडे
न्यूज टुडे
राजविराज, ९ मंसिर ।
श्री महालक्ष्मी दूध सहकारी संस्था लिमिटेड अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ छपकीको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष उमाकान्त मेहताको अध्यक्षता तथा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका विच साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा सहभागी संस्थाका शेयर सदस्य एवम् आवद्ध सदस्यहरु । फोटो : न्यूज टुडे
साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले छोटो समयमै छिटो प्रगति गरेको भन्दै सहकारी संस्थाको प्रशंसा गरे । उनले सहकारी संस्थासंग कुनैपनि नकारात्मक अपेक्षा नराखी सहयोग गर्दै आएको उल्लेख गरे ।
सहकारी संस्थासंगको मिलोमतोमा कागजमा कार्यक्रम गरि अनियमितता गरेको आरोप आफ्नो कार्यकालमा आउन नदिने दाबी गर्दै अध्यक्ष चौधरीले आफुले कुनै योजना तथा कार्यक्रममा कमिसन लिएको प्रमाणित गरेर देखाउन चुनौती दिए ।
उनले आफुसहित गाउँपालिकाका कुनैपनि कर्मचारीले कमिसन लिएको प्रमाणित गरे पदबाट राजिनामा दिने घोषणा गरे ।
सम्मान ग्रहण गर्दै नियमित बचतकर्ता मन्जुदेवी राम । फोटो: न्यूज टुडे
छ्पकी स्थिति सहकारी संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा कृषी शाखा संयोजक वसन्त कुमार यादव, नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य बृजमान तामाङ, वजरंङ्गवलि सहकारी संस्थाका अध्यक्ष सदानन्द यादव, रेडक्रस सोसाइटी सप्तरीका कोषाध्यक्ष चित्त नारायण यादव, समाजसेवी युगेश्वर प्रसाद यादव, चन्द्र नारायण मेहता, सहकारीका ऋण संयोजक मनोज कुमार यादव, व्यवस्थापक संतोष मेहता लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
कृषी शाखा संयोजक यादवलाई प्रमाणपत्रबाट सम्मान गर्दै गाउँपालिका अध्यक्ष चौधरी । फोटो: न्यूज टुडे
उक्त साधारणसभामा लेखा समिति संयोजक देवकान्त पण्डितले आर्थिक बर्ष २०७९/०८० को ३४ लाख ४४ हजार ८ सय ६ रुपैयाँको आयव्यय प्रस्तुत गरे । सहकारी संस्थाका सल्लाहकार देवकान्त मेहताद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष रामअवतार पण्डितले गरे ।
आयव्यय प्रस्तुत गर्दै लेखा समिति संयोजक देवकान्त पण्डित । फोटो: न्यूज टुडे
उक्त अवसरमा सहकारी संस्थाको विकासमा योगदान गर्ने १० जनालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका पुर्व अध्यक्ष पर्शुराम चौधरी, वडा नम्बर ५ का पुर्व अध्यक्ष श्रीप्रसाद यादव, कृषी शाखा संयोजक वसन्त कुमार यादव, आदर्श दूध विकास सहकारी संस्था महुलीका अध्यक्ष दिपेन्द्र आचार्य, सदानन्द यादव, सतिश कुमार चौधरी, बढी दूध जम्मा गर्ने किसान नन्दलाल मेहता, नियम बचतकर्ता मन्जुदेवी राम, राज कुमार मेहता, महेन्द्र साह हल्वाई रहेका छन् ।
उनिहरुलाई गम्छा र सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । सहकारी संस्थाले प्रदेश सरकारको अनुदानमा २५ वटा गोठ निर्माण, किसानहरुलाई घाँस काट्ने कटर मिसिन, दूध बोक्ने ट्यानीलगायतका लाखौं मुल्यको कृषि सामाग्री निशुल्क वितरण गरेका छन् ।