आज (मंसीर ७ गते) दुर्गा प्रसाइँ र नेकपा (एमाले) को भातृ संगठन युवा संघले राजधानी काठमाण्डौंमा एकै समयमा कार्यक्रम गर्न लागेका छन् । युवा संघले मूल्यबृद्धि, भ्रष्टाचार, जातिय सद्भाव र जुनसुकै अराजकता बिरुद्धको प्रदर्शन भनेको छ भने दुर्गा प्रसाइँ नेतृत्वको समूहले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बँचाउ महाअभियान अघि सारेको दावी गरेको छ ।
उक्त समूहले आफूहरुको आन्दोलनलाई व्यवस्था बदल्नकालागि गरिन लागेको प्रदर्शन भनेको छ । यसरी दुबै पक्षले आफ्नो शक्ति प्रदर्शनकालागि जिल्ला जिल्लाबाट मानिस ओसार्न थालेको बताईएको छ । जनताका समस्या तथा तिनका मुद्दालाई अघि सारेर राजनीति गरिनु स्वाभाविक हो । तर एकै दिन राजधानीमा प्रदर्शन गर्न तम्सिएको यो समूह भने यति बेला एक अर्काका कडा आलोचकका रुपमा प्रस्तुत हुँदै आएका छन् । एक अर्काका कट्टर बिरोधीका रुपमा प्रस्तुत भईरहेका यी दुबैको प्रदर्शनको कार्यक्रम पनि एकै दिन भएका कारण कतै मुठभेड निम्तिने त होईन भनि चिन्ता प्रकट गर्नेहरुको पनि कमी छैन । जनताका पक्षमा काम गरेको भन्न रुचाउने भएपछि दुबैले एक अर्का बिरुद्ध खनिनु भन्दा पनि जनतालाई समस्यामा पार्नेका बिरुद्ध लागेर त्यसमा सुधार ल्याउन सक्दा जनताले पनि राहतको अनुभूति पाउँथे होलान् । तर समस्या जसले खडा गरेको हो उसका बिरुद्ध भन्दा पनि एकापसमै भिडन्तको शैलीमा बिरोध हुन थालेपछि कतै यिनीहरुका वीच नै मुठभेड निम्तिने पो हो कि भनि चिन्ता लिईनु अस्वाभाविक होईन ।
तसर्थ आफ्नो बर्चस्वकालागि मुठभेडको अवस्था सम्म पुग्ने भन्दा पनि संयमताका साथ आफ्ना विचार राख्नु नै श्रेयष्कर हुनेछ ।