बनौली युथ क्लबद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ बनौलीमा संचालित १२ औं पच्चशिल्ड फुटबल प्रतियोगिताको उपाधि बानो फुटबल क्लब लहान सिरहाले हात पारेको छ । आधारभुत विद्यालय बनौली बडगोरियाको खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा मलिथम फुटबल क्लब उदयपुरलाई पलान्टीमा पराजित गर्दै सिरहाले उपाधिमाथि कब्जा जमाएको हो ।
उपविजेता उदयपुरलाई द्वितीय पुरस्कार प्रदान गर्दै गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी । फोटो: न्यूज टुडे
प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न फाइनलमा खेलमा पलान्टीमा सिरहा विजयी भएका छन् । उदयपुरलाई १ – ३ गोलले पराजित गर्दै सिरहा विजयी भएका हुन ।
दुबै टिम विच कडा प्रतिस्पर्धा भएको खेलको निर्धारित ६० मिनेटको खेलमा कुनैपनि टिमले गोल गर्न नसकेको आयोजकले जनाएको छ । विजेता टिमका गोल रक्षक रेम्बो चौधरीले २ गोल रोकेपछि सहजै जित हाँसिल गरेका थिए ।
शिल्ड परिक्रमा गर्दै प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो: न्यूज टुडे
उपविजेता टिमका खेलाडीले प्रहार गरेको पहिलो गोल बलपोष्ट भन्दामाथि गएका थिए । त्यस लगत्तै सिरहाका खेलाडीले प्रहार गरेको गोल उदयपुरका गोलरक्षकले रोकेपछि बराबर भएको थियो । उदयपुरका खेलाडीले प्रहार गरेको २ गोल सिरहाका गोलरक्षकले रोकेपछि सिरहाको जित सुनिश्चित भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई एक समारोहका विच पुरस्कार वितरण गरिएको छ ।
समापन समारोहमा मन्चासिन प्रमुख अतिथि साहसहित अतिथिहरु । फोटो:न्यूज टुडे
अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् मधेस प्रदेशका पुर्व सामाजिक विकास मन्त्री नवलकिशोर साहले विजेता टिमलाई नगद ४१ हजार राशीको प्रथम पुरस्कार, शिल्ड,मेडल, प्रमाणपत्र प्रदान गरे । यसैगरी अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले उपविजेता टिमलाई नगद २५ हजार राशीको द्वितीय पुरस्कारसहित कप, मेडल प्रमाणपत्र हस्तान्तरण गरे ।
खेलको उत्कृष्ट गोलरक्षक घोषित भएका सिरहाका रेम्बो चौधरीलाई वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीले बेष्ट गोलकिपरको शिल्ड प्रदान गरे । यसैगरी खेलमा सर्वाधिक गोल गर्ने सिरहाका सुनिल चौधरीलाई ४ नम्बर वडा अध्यक्ष तेज नारायण यादवले बेष्ट स्कोलरको शिल्ड प्रदान गरे भने प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित उदयपुरका सुर्य चौधरीलाई बेष्ट खेलाडीको अवार्ड प्रदान गरिएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै संघीय साँसद एवम् पुर्व सामाजिक विकास मन्त्री साह । फोटो:न्यूज टुडे
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य साहले खेलाडीले राष्ट्रको प्रतिष्ठा बढाउने भएकोले खेलाडीको राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले बनौली खेलमैदानमा मंच निर्माणका लागि आफ्नो संसदीय विकास कोषबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले खेलसंगै गाउँपालिकामा राष्ट्रिय खेलाडी उत्पादन गर्नेतर्फ सबैको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।
प्रतियोगिता समापन समारोहमा, नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य बृजमान तामाङ, वडा अध्यक्षहरु अशोक आचार्य, तेज नारायण यादव, गोपालप्रसाद चौधरी, कार्यबाहक वडा अध्यक्ष हरि खंग, साविक प्रशवनी गाविसका अध्यक्ष रामदेव यादव, कार्यपालिका सदस्यहरुलगायतका स्थानीय बुद्धिजीवी, समाजसेवीहरुको उपस्थिति रहेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथि तथा अतिथिगणहरुलाई आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको संचालन आधारभुत विद्यालय बनौली बडगोरियाका अध्यक्ष अशोक कुमार यादवले गरेका थिए ।
प्रतियोगिता न्यू त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी, श्री लाटीदेवी स्पोर्ट्स एकेडमी इनरुवा सुनसरी, बानो फुटबल क्लब लहान सिरहा, यति एफसी धरान सुनसरी, मलिथम फुटबल क्लब उदयपुर, बनौली युथ क्लब अग्नीसाइर कृष्णासवरन गाउँपालिका सप्तरी, बसाहा फुटबल क्लब बसाहा उदयपुर, गोल बजार स्पोर्ट्स क्लब सिरहा गरि ८ टिम सहभागी थियो ।