• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

गत ४ गते आमनिर्वाचनको एक वर्ष पूरा भएको छ । जनताका आकांक्षा यस अवधिमा के कति पूरा भए भन्ने लेखाजोखा गर्ने हो भने यस अवधिको परिणाम किमार्थ पनि उत्साहजनक देखिएको छैन ।
जनताका समस्यालाई ध्यानमा राख्ने भन्दा पनि सत्ता कसरी टिकाउने भन्ने ध्याउन्नमै यस बीचको वर्ष दिनको अवधि व्यथित भयो भन्दा अन्यथा नहोला । निर्वाचन लगत्तै संसदको दोस्रो ठूलो दल नेकपा (एमाले) र तेस्रो नेकपा (माओवादी केन्द्र) मिलेर बनेको सरकार राष्ट्रपति निर्वाचनका बखत समीकरण फेरिएर एमाले सरकारबाट बाहिरियो भने काँग्रेसको सरकारमा इन्ट्री भयो । सत्तारुढ दलमा नेकपा (एस), जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी समेत समेटिन पुगे । सत्ताधारी दलका प्राय सबैजसो नेताहरु वर्तमान गठबन्धनको सरकार नै पाँच वर्षसम्म चल्ने दावी गर्दै आएका छन् । तर जनताका नजरमा जुन गठबन्धनको सरकार आएपछि प्रशंसा गर्न लायक काम हुन नसकेका कारण नरौश्यताले नै अड्डा जमाएको तीतो यथार्था छ । महँगी बढेको बढेयै छ । ठूलाठूला भ्रष्टाचारका काण्डमा मुछिएकाहरुमाथि कारवाही हुन सकेको छैन । यस्ता काण्ड सेलाउन थालेको बताइँदै छ । भ्रष्टाचार र ढिलासुस्तीका कारण सरकारमाथि अनेकौं प्रश्न तेर्सिन थालेका छन् । काम हेरेर जनताले प्रशंसा गर्नु भन्दा पनि सरकारमा रहेकाहरु नै आफ्नो जसगानमा लागेको अवस्था छ ।
जाजरकोट र रुकुम पश्चिममा आएको विनाशकारी भूकम्पबाट पीडितहरु विचल्लीमा छन् । जाडो याममा बाँस गुमाउनु परेको पीडा उनीहरुमाथि आईपरेको छ । कतिपय पीडितहरु विरामी पर्न थालेका छन् तर तिनीहरुलाई जोगाउन र बसोबासको व्यवस्था मिलाउने तर्फ प्रभावकारी ढंगले काम हुन सकिरहेको छैन । बढ्दो बेरोजगारीका कारण स्वदेश छाडेर विदेशिनेहरुको लर्को नै लागेको छ । विदेशिने जनशक्तिलाई स्वदेशमै रोक्ने तर्फ सरकारले ठोस नीति तथा कार्यक्रम ल्याउन सकेको छैन । मुलुक आत्मनिर्भर बन्नु त कता हो कता उल्टै परिनिर्भरता बढ्दो छ । यस्तो विषयपरिस्थितिमा सुधार आउला भन्ने लक्षण पनि देखा परिरहेको छैन ।
एक वर्षको अवधिमा भएका कामको मूल्यांकन गर्दा भन्न सकिन्छ कि बाँकी अवधि पनि यसरी नै विताउने हो भने अवस्था अझ गम्भीर भएर जानेछ । अतः समयमै कमी कमजोरी सुधारर्नुको विकल्प रहन्न ।