न्यूज टुडे
राजविराज, ५ मंसिर ।
नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व कोषाध्यक्ष स्वर्गीय शुभचन्द्र झा बहुआयामिक र बहुप्रतिभाशाली व्यक्तित्व रहेको राजविराजमा मंगलबार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा स्वर्गीय झाको सातौं दिनको पुण्यतिथिको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभाका बक्ताहरुले यस्तो बताएका हुन् ।

स्वर्गीय झाको जिवनी बारे चर्चा गर्दै बक्ताहरुले स्वर्गीय पत्रकार झा बहुआयामिक र बहुप्रतिभाशाली व्यक्तित्वको धनी तथा कुशल व्यवस्थाक रहेको बताए ।
पत्रकार महासंघको कोषाध्यक्षको जिम्मेवारीमा रहँदा महासंघकै इतिहासमा असल कोष व्यवस्थापकको जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै बक्ताहरुले स्वर्गीय झाको निधनले पत्रकार महासंघमा ठूलो क्षती भएको बताए ।
पत्रकाररितासंगै सामाजिक, राजनीतिक क्षेत्रमा क्रियाशिल झाको अल्पायुमै भएको निधनले सप्तरीबासीलाई सधै अभाव खट्किरहने बताउदै बक्ताहरुले पत्रकार महासंघबाट हुने सबैप्रकारको सहयोग उहाँको परिवारलाई गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य ललिता कुमारी साह, पुर्व केन्द्रिय सदस्य अबधेश कुमार झा, पुर्व अध्यक्षहरु विष्णु कुमार मण्डल, मुरली प्रसाद यादव, बैधनाथ झा, धिरेन्द्र प्रसाद साह, जितेन्द्र खड्गा, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंह, नेपाल प्रेस युनियनका अध्यक्ष विनयलाल कर्ण, प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादवलगायतकाले शोक मन्तव्य व्यक्त गरे । कार्यक्रमको संचालन महासंघका सचिब रामनारायण विश्वासले गरेका थिए । पत्रकार झाको कार्तिक २९ गते ५५ बर्षको अल्पायुमा निधन भएको थियो ।