न्यूज टुडे
राजविराज, ४ मंसिर।
मधेसका जिल्लाहरुसहित देशभरी मनाइने छ्ठ पर्व सम्पन्न भएको छ । सोमबार विहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएपछि विधिवत रुपमा छठ पर्व सम्पन्न भएको हो ।
आइतबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका छन् ।
छ्ठ पर्वमा व्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । सूर्यको आराधना गरेर मनाइने यो पर्व लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनदेखि विधिवत् रूपमा शुरु हुन्छ ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने छठ तराईमा बस्ने भोजपुरी र मैथली भाषी हिन्दु समुदायको मुख्य पर्वको रुपमा रहेको छ ।
छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ । सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ । नेपालमा पहिला तराई क्षेत्रमा सीमित यो पर्व केही वर्षदेखि काठमाण्डौ उपत्यका तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।
छठ पर्व मनाउनेहरूले पोखरीको डिल र नदीतटीय क्षेत्र सरसफाइ गरेर पूजास्थल बनाउँछन् । तराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापन गरिन्छ । काठमाण्डौ उपत्यकासहितका देशभरीका विभिन्न नदी किनारमा पनि छठस्थलहरु सजाइएका थिए ।