• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

केही वर्ष अघि राजविराजमा सप्तरी महोत्सवको आयोजना गरिँदा कृषि तथा उद्योगको प्रबध्र्दनकालागि सम्बन्धित विषयको स्टल राखिनाका साथै प्रचार प्रसारमा पनि विशेष ध्यान दिईएको थियो । कृषि तथा स्थानीय उद्योगबाट भएका उत्पादनको प्रदर्शन गरिनाले सम्बन्धित क्षेत्रमा विकास होला भन्ने उद्देश्य राखिएको थियो । उक्त काममा जेजति सफलता हासिल भयो त्यसका बारेमा सप्तरीबासी जानकार नै हुनु पर्ने हो ।
वास्तवमा महोत्सवको आयोजना गर्ने प्रमुख उद्देश्य पनि यही हो । साथमा मनोरञ्जनका कार्यक्रम पनि समावेश गरी महोत्सवमा सर्वसाधारणको आकर्षण बढाउने गरिन्छ जुन स्वाभाविकै पनि हो । यस पटक पनि सप्तरीमा महोत्सव आयोजना त गरियो । तर त्यसमा कृषि उद्योगको प्रबद्र्धन भन्दा पनि मनोरञ्जनमा मात्र बढी जोड दिएको भनि सहभागीहरुले नै प्रतिक्रिया नदिएका पनि होईनन् । हो,यस्ता कार्यक्रम आयोजना गर्न लागि परेकाहरुले अहोरात्र मिहिनेत नगरेको भन्न मिल्दैन । तर यसका बाबजुद पनि उद्देश्य मुताबिक काम हुन सकेन भने त्यसको समीक्षा त हुन्छ नै । यस्तो समीक्षा वा टिप्पणीले नै आगामी दिनमा फेरि यस्ता कार्यक्रम आयोजना गरियो भने त्यसमा कमी कमजोरी सुधार्न सकिने गुञ्जाईस पनि रहन्छ ।
यस पटकको महोत्सवका कमजोरी पक्ष के रहे भनेर अहिले कार्यक्रम सम्पन्न भए पछि टिकाटिप्पणी गरिरहनु भन्दा पनि उद्देश्य प्राप्ती अनुसारका कार्यक्रम भविष्यमा राखेर काम गर्न सकियो भने पनि त्यो उपलब्धिमूलक बन्नेमा आशावादी रहन सकिने छ । अतः यस पटक भएका कमी कमजोरीमा सुधारका साथ आगामी दिनमा काम गर्न सकियो भने त्यो अझै प्रभावकारी बन्नेमा आशंका नरहला ।