• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

छठको तेस्रो दिन खरना, आइतबार अस्ताउँदो सुर्यलाई अर्घ्य दिइने

छठको तेस्रो दिन खरना, आइतबार अस्ताउँदो सुर्यलाई अर्घ्य दिइने
न्यूज टुडे
राजविराज , २ मंसिर ।
लोकआस्थाको महापर्व छठको तेस्रो दिन शनिबार ब्रतालुहरुले ‘खरना’ गरेर विधिपुर्वक मनाउँदै छन् । पर्वको पहिलो दिन कार्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन शुक्रवार ‘नहाय–खाय’ सम्पन्न गरेका ब्रतालुले पञ्चमी तिथिका दिन ‘खरना’ विधी गरेर छ्ठ पर्व मनाइरहेका हुन् ।
बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवताको कोठामा छठी माई देवीलाई चढाई ब्रतालु त्यही खिर खाने गर्दछन् । यो विधिलाई ‘खरना’ भनिएको हो । श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खिर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभर उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्ने गर्छन ।
पर्वको चौथो दिन आइतबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुए जलायमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरघ’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने प्रचलन छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई ‘भोरका अरघ’ र पारण भनिन्छ ।
छठपर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त तथा नातेदारकहाँ पु–याउन जाने परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा पिसिएको पिठोबाटै तयार गरिन्छ । यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हर्दी, अदुवा एवम् विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ ।
केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएकामा अब पहाडे मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत धुमधामसँग मनाउन थालेकाले छठपर्व साँझा बनेको छ । इस्लाम धर्मावलम्बीले छठको भाकल गरेर व्रत बसेका ब्रतालुलाई प्रसाद सामग्री सूर्यलाई चढाएको देखाइदिन आग्रह गरेका अब प्रशस्त देखिन थालेको छ । छठ राष्ट्रिय पर्वको रुपमा उदाएको छ ।