• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मंसिर लागेपछि ठण्डी पनि बढ्न थालेको छ । सप्तरी लगायत तराई मधेशका जिल्लाहरुमा यसै बेला शितलहरको सम्भावना पनि बढी रहने भएका कारण चिसोबाट जोगाउने सबालमा सतर्कताको आवश्यकता रहनु स्वाभाबिकै हो ।
विगतमा पनि यहाँ ठण्डीबाट कैयौंले ज्यानै गुमाईसकेका छन् । विशेष गरी विपन्न समूदायकाहरु नै यसबाट बढी प्रभावित रहने भएका कारण तिनलाई कसरी जोगाउन सकिन्छ भन्ने कुरामा नै पूर्वतयारीको आवश्यकता परेको हो । ठण्डीका समयमा न्यानो कपडा, ओढ्ने ओच्छ्याउनेको व्यवस्था तथा विरामी भएमा उपचार आवश्यक रहन्छ । विपन्नताका कारणले गरिब परिवारमा गतिलो लुगा,पोषिलो खाना तथा उपचारको व्यवस्था मिलाउन कठिनाई पर्ने गर्दछ । यस्तो समयमा रेडक्रस तथा अन्य सामाजिक संघसंस्थाहरुको सक्रियता अपेक्षित रहने भएका कारण ती संस्थाहरुले पनि विपद्को यस्तो समयलाई लक्षित गरी पूर्वतयारीमा जुट्नु सान्दर्भिक हुनेछ । संघसंस्था मात्र होईन यस्तो कठिन समयमा स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहहरुको पनि सक्रियताको आवश्यकता पर्ने हुन्छ । प्रकोपको यस्तो समयमा खर्च गर्नकालागि ती स्थानीय तहहरुले केही रकम पहिले नै छुट्याएर राखेमा समस्या आईसकेपछि त्यसको समाधान तर्फ जुट्न पनि सहजता हुनेछ ।
स्थानीय तहका जनप्रतिनिधिहरुले ठण्डीपीडितका बारेमा जानकारी लिने, लगत तयार गर्ने तथा पीडितलाई लक्षित गरी राहत तथा अन्य कुराको व्यवस्था मिलाउन सकियो भने यसबाट वास्तविक पीडितलाई नै राहत मिल्ने तथा राहतको दुरुपयोग रोक्नमा पनि सघाउ पुग्नेछ । ठण्डीलाई लक्षित गरी कम्तिमा आगो ताप्ने व्यवस्था मिलाउन सकियो भने पनि पीडितलाई तत्काल जोगाउन सकिने छ ।