न्यूज टुडे
राजविराज, १ मंसिर ।
साहुले घरमै बोलाएर निर्घात कुटपिट गरेको कंचनरुप नगरपालिका ३ का एक ६२ बर्षिय मिटरव्याजी पिडितले आरोप लगाएको छ ।
स्थानीय प्रकाश कुमार साह तेलिले शुक्रबार विहान आफुलाई कुटपिट गरि घाईते बनाएको पीडित दशरथ साहले आरोप लगाएको हो ।
विहान ८ बजे घरमा बोलाएर म विरुद्ध मिटर व्याज मुद्दा किन दर्ता गरिस भन्दै साह र सुकसेन साह दुइजना मिलेर अन्धाधुन्ध कुटपिट गरेको पीडितले न्यूज टुडेलाई बताए ।
“२०७२ जेठ १५ गते १ कट्ठा साढे १३ धुर जग्गा दृष्टि बन्धक राखी तेलिसंग घरखर्चको लागी रु २ लाख १० हजार ऋण लिएँ, न्यूज टुडे कार्यालयमा आइपुगेका पीडित साहले भने, एकबर्ष नपुग्दै २ लाख बुझाएँ, अरु बाँकी बुझाएर जग्गा र कपाली कागज फिर्ता गर्न पटकपटक आग्रह गर्दा अझै सुनुवाइ भएन । “
जग्गा फिर्ता गर्न गरिएको अनुरोधलाई बेवास्ता गर्दै थप पीडा दिने गरेपछि जिल्ला प्रशासन कार्यालयमा तेलि विरुद्ध २०८० जेठमा १०७३ नम्बरमा मुद्दा दर्ता गराएको बताउदै दशरथले सोही विषयलाई लिएर आफुलाई उनकै घरमा बोलाएर कुटपिट गरेको आरोप लगाए ।
कुटपिटबाट मुख, निधारसहित विभिन्न भागमा गम्भीर चोट लागेको उनले बताए । कुटपिट बारे इलाका प्रहरी कार्यालय ठेलियामा जानकारी गराएपनि प्रहरीले चासो नदिएको उनले गुनासो गरे ।
स्थानीय प्रहरीले सुनुवाइ नगरेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गरिएको उनले जानकारी दिए । टाउको तथा अनुहारको विभिन्न भागमा चोटपटक लागेको साहको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
मिटर व्याज मुद्दामा जिल्ला प्रशासन कार्यालयमा छ्लफलका लागि तेलिलाई पटकपटक बोलाउँदा बाहिर रहेको बहाना बनाउँदै अटेरी गरेको बताउँदै उनले शक्ति र सम्पत्तिको आडमा आफुमाथि अन्याय गर्दै आएको उनले दुखेसो पोखे ।
यस बारे साहु तेलिसंग बुझ्दा आफुमाथि लगाएको आरोप निरधार रहेको बताए । दशरथ आफ्नो साईनोमा काका पर्ने बताउँदै उनले आफुले कुटपिट नगरेको जिकिर गरे ।