• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

हरेक व्यक्ति सामाजिक मर्यादा भित्र बाँधिएको हुन्छ । समाजले स्वीकार नगर्ने अर्थात नपचाउने खालको गतिविधि गर्न मिल्दैन । यदि यस्तो गरियो भने त्यसलाई समाजले स्वीकार्दैन । अनि यस्तो गर्ने व्यक्ति एक्लिन पुग्छ, निन्दाको पात्र बन्दछ । बढ्दो खुला परिवेशमा अचेल यस्तै नपच्ने खालका अश्लील गतिविधि पनि बढ्न थालेका छन् । पूजा आजाको समय या कुनै धार्मिक अनुष्ठान गर्दा चर्को आवाजमा बजाइने डिजे वाजाले भजन भन्दा पनि समाजमा नपच्ने खालका अश्लील गीतहरु धन्काउने गरेका छन् ।
समाजमा सबै उमेर समूहका मानिसको बसोबास रहन्छ । विभिन्न सम्बन्धले जोडिएका आफन्त तथा परिवारका सदस्यहरु एक साथ रहेर यस्ता अश्लील गीत सुन्न नसकिने खालका रहने गरेका छन् । सामाजिक मर्यादाका दृष्टिकोणबाट पनि अशोभनीय मानिएका यस्ता कार्यमा रोक नलगाउने हो भने भविष्यमा अश्लीलताको पारो चढेर कहाँसम्म चुलिएला? यस तर्फ पनि चिन्ता लिनुपर्ने समय आईसकेको छ । अश्लीलता झांगिँदै गएपछि त्यसलाई एक्कासी रोक्न गाह्रो हुन्छ । जसरी तिब्र गतिमा गुडिरहेको सवारी साधनलाई एक्कासी ब्रेक (रोक) लगायो भने दुर्घटनाको जोखिम हुन्छ, अश्लीलतालाई पनि बढ्न दिईरहने हो भने यसले पनि भविष्यमा गति तिब्र बनाउँदै नलैजाला भन्न सकिन्न ।
यसले उच्छृंखलतालाई समेत बढावा दिने भएका कारण समग्रहमा सुन्दर, शालीन तथा मर्यादित समाजको संरचनामाथि नै धावा बोल्न सक्दछ । त्यसैले यस्ता गतिविधिलाई मजाकका रुपमा लिनु पनि नियन्त्रणतर्फ सबै सरोकारवालाको अग्रसरता आवश्यक छ ।