• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एउटा मात्र संस्कृतिको संरक्षण गरेर सम्पुर्णको सम्मान हुँदैन : लेखी 

एउटा मात्र संस्कृतिको संरक्षण गरेर सम्पुर्णको सम्मान हुँदैन : लेखी 

उत्तम आचार्य

रुपनगर, २८ कार्तिक ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य एवम् मधेस प्रदेशका पुर्व मन्त्री राज कुमार लेखीले एउटै मात्र धर्मसंस्कृतिको संरक्षण गरेर सम्पुर्णको सम्मान नहुने बताएका छन् । सप्तरीको कंचनरुप नगरपालिका १२ स्थित बस्तिपुरमा मंगलबार आयोजित नेपाल सम्वत ११४४ को अवसरमा आयोजित न्हुदँया भिंतुनालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो: न्यूज टुडे
कार्यक्रममा बोल्दै लेखीले देशमा विभिन्न जातिसमुदायले मनाउने चाड पर्वलाई राज्यले समान रुपले हेर्नुपर्नेमा जोड दिए ।
“नेपाल एउटा विविध संस्कृतिले धनी देश हो, यहाँ हरेक जातिसमुदायको फरक धर्म ,संस्कृति छन् , लेखीले भने, सबै संस्कृतिलाई जगेर्ना गर्ने दाइत्व राज्यकै हो, एउटा मात्र जाति समुदायको संस्कृतिको संरक्षण गरेर सम्पुर्णको सम्मान हुँदैन ।”
 देशमा मनाइने विभिन्न संस्कृतिलाई सरकार पक्षबाट कार्यक्रम आयोजना गरि मनाउनुपर्नेमा उनको जोड थियो ।
आफ्नो नेतृत्वमा ठूलो संघर्ष गरेर मुलुकमा साँस्कृतिक पहिचान स्थापना गरेको चर्चा गर्दै आदिवासी जनजाति महासंघको पुर्व अध्यक्ष समेत रहेको लेखीले संस्कृति जगेर्नामा नेवार समुदायले खेलेको भुमिकाले आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न योगदान गर्ने विश्वास व्यक्त गरे ।

नेवा समुदायले निर्माण गरेको गुठी सामाजिक रुपमा धेरै उपयोगी रहेको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री लेखीले आफ्नो संसदीय विकास कोषबाट  सहयोग गरेको १० लाख रुपैयाँ सदुपयोग भएको भन्दै नेवा समाजको प्रशंसा गरे ।

कार्यक्रममा सहभागी नेवा समुदायहरु । फोटो: न्यूज टुडे
कन्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले नेवा समाज रुपनगरले गुठी स्थापना गरि संस्कृति संरक्षणका लागि प्रत्येक बर्ष निरन्तर नेपाल सम्वत मनाउनाले नगरपालिलाई चिनाउन योगदान गरेको बताइन् । उनले सबैजाती समुदायको धर्म संस्कृति संरक्षणका लागि नगरपालिकाले आबश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङले आदिवासी जनजाति समुदायको उत्थानका लागि बर्तमान तिनै तहको सरकार उदासीन रहेको आरोप लगाए ।
उनले आदिवासी जनजाति समुदायलाई दवाउने निति लिएर तिनै तहका सरकारले लक्षित समुदाय विकास बजेट कटौती गरेको टिप्पणी गरे ।
आफुहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक व्यवस्थाकै कारण देशमा विकास र समृद्धिको ढोका खुलेको बताउदै तामाङले ठूलो संघर्ष र बलिदानीबाट ल्याएको व्यवस्थाको संरक्षणका लागी अझै एकताबद्व भएर लाग्नुपर्नेमा जोड दिए ।
परिवर्तन विरोधीहरुको कारण बर्तमान व्यवस्थामाथिनै खतरा देखिएको जिकिर गर्दै उनले निराधार कुतर्क गरेर परिवर्तनको विरोध गर्नु उचित नभएको टिप्पणी गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष प्रकाश खतिवडाले न्हुदँया भिंतुना नेवा समुदायको मात्र नभएर सम्पुर्ण नेपालीको रहेको जिकिर गरे ।
नेवा समाज रुपनगरले प्रत्येक बर्ष निरन्तर नेपाल सम्वत मनाएकोमा खुशी व्यक्त गर्दै उनले कार्यक्रमले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्न टेवा पुगेको बताए ।
न्हुदँया भिंतुना कार्यक्रममा प्रत्येक बर्ष सरिक भएको स्मरण गर्दै खतिवडाले नेपाल सम्वतको यथार्थ उजागर गर्न पत्रकारिताको माध्यमबाट सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेवा समाज रुपनगरका अध्यक्ष जित बहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा कन्चनरुप नगरपालिकाका पुर्व मेयर वसन्त मिश्रा, मविव क्याम्पस राजविराजका पुर्व स्ववियु सभापति सुरेश पोखरेल, मदन श्रेष्ठलगायतकाले नेपाल सम्वतका पवर्तक राष्ट्रिय बिभुती शंखधर शाख्वाको जिवनी बारे चर्चा गर्दै तिनै तहको  सरकारले चुलिएको बेतिथी न्यूनीकरण गर्न प्रेणा लिनुपर्ने आबश्यकता औल्याए ।
युवा नेता पेशल जोशीद्वारा संचालित कार्यक्रममा स्वागत महिला नेत्री विष्णु श्रेष्ठले गरिन ।
यसअघि नेवा समाज गुठी सभागृह बस्तीपुरबाट पन्चकन्यासहित लाखे नाच प्रस्तुत गर्दै निकालिएको र्‍याली कन्चनारुप नगरपालिकाको विभिन्न भाग परिक्रमा गरिएको थियो ।
नेवार समुदायले राष्ट्रिय बिभुती शाख्वाको जन्मजयन्ती तथा नयाँबर्षको रुपमा नेपाल सम्वतको अवसरमा न्हुदँया भिंतुना मनाउने गरेको छ ।