महालक्ष्मीलाई धनधान्यकी देवीका रुपमा पुज्ने चलन छ । दीपावलीका अवसरमा यिनै देवीको विशेष उपासना र आराधना गरी तिहार मनाउने प्रचलन पौराणिक रुपमै चलि आएको परम्परा छ ।
यस परम्परालाई जीवन्त तुल्याउनका लागि पूर्वीय आध्यात्म दर्शनका अनुयायीहरुले आ–आफ्ना स्तरबाट ठूलो योगदान दिँदै आएका छन् । यही प्रचलन र परम्पराको उल्लासमा अहिले बातावरण तिहारमय हुन पुगेको छ । कतै उज्यालै उज्यालो त कतै उज्यालोमा पनि झिलिमिली । त्यसमाथि पटाकाको कर्कस आवाजले धम्काउँदो किशोरहरुको उल्लास । दशैंपछिको दोस्रो महत्वपूर्ण पर्वका रुपमा मानिएको तिहार उज्यालो र उल्लासमय अवसर पनि हो । धनधान्यकी देवीका रुपमा पुजीत माता लक्ष्मीको उपासनाले समृद्धि मिलोस् भन्ने कामना र आकांक्षा नै रहन्छ । महालक्ष्मीले समृद्धि र सम्पन्नता दिन्छिन भन्ने अटल विश्वास लिएर मात्र पुग्छ भन्न सकिन्न । देवी महालक्ष्मी त आफ्ना उपासकका लागि आन्तरिक रुपमा ऊर्जा र प्रेरणाकी प्रतिपूर्ति मानिन्छिन् नै । तर उन्नति, प्रगति अनि समृद्धिका लागि उद्यम गर्नुको त विकल्प रहन्न । सम्पन्नता वा समृद्धिका लागि उद्यमको पनि आवश्यकता पर्दछ ।
तिहारको यस पावन अवसर तथा रमाइलो उल्लासमा उद्यम तर्फ लाग्ने प्रेरणा व्यक्ति–व्यक्तिमा जागृत हुन सकोस् । मिहिनेत गर्ने वा यसकै पर्यायका रुपमा मानिएको शब्दावली, ‘पसिना बगाउने’ हामी सबैमा ऊर्जा प्राप्त होस् । त्यसो भएमा व्यक्तिमा आत्मनिर्भरताको प्राप्ती हुने सम्भावना रहन्छ । परिश्रमीलाई नै समृद्धिको प्राप्ती हुन्छ भन्ने मान्यताका साथ आ–आफ्नो कर्मक्षेत्रमा लाग्ने सत्प्रेरणा जागृत हुन सक्यो भने पनि तिहारको सन्देश प्रवाह भएको मान्न सकिने छ ।