चुरेको दोहनका कारण बढ्दो समस्याप्रति आजकल चिन्ता र चासो व्यक्त त गरिन्छ । तर अहिले पनि यसको संरक्षणमा जति ध्यान दिनु आवश्यक छ त्यो हुन सकिरहेको छैन । कुनै समय हरियाली रहने गरेको चुरेको अहिले देखिने उजाड अवस्थाले पनि यही वास्तविकताको संकेत गरिरहेको मान्न सकिन्छ ।
पानीको सतह घट्दै जाने, जैविक विविधता समाप्त हुँदै जाने चुरे विनाशका लक्षण पनि हुन् । यसका साथै कहिले अतिवृष्टीले मानव बस्ती समेत तहस नहस हुने अनि कुनै समय अनावृष्टिले खडेरीको मार खेप्नु पर्ने अवस्था आउनका पछाडि चुरेको विनाश पनि एक कारक हो । चुरे उजाडिंदा जलको संकट पर्ने र जलविना जीवन नै संकट तर्फ धकेलिने भएका कारणले पनि चुरे जोगाउने सवालमा अब हेलचेव्र्mयाइँ गर्न मिल्दैन । चुरै संरक्षणका पछाडि सरकारले पनि लगानी नगरेको भन्न नसकिएला । तर यसका बाबजुद पनि भएको काम परिणाममुखी हुन सकेन भने त्यसको पुनरालोकन गर्न जरुरी हुन्छ । विशेषतः राजनीतिक दलहरु अझै पनि चुरै संरक्षणको सवालमा गम्भीर बन्न सकिरहेको पाइन्न । निर्वाचनताका यसलाई कसैकसैले चुनावी मुद्दा बनाए होलान् ।
तथापि अहिले पनि चुरे उजाड नै छ, यसमाथिको दोहन रोकिएको छैन । चुरेको हरियाली नष्ट गर्ने, खनेर ढुंगा, गिट्टी, कंक्रिट निकाल्ने कार्यमाथि कडाईका साथ रोक लगाउनु पर्छ । विभिन्न नाउँ वा बहानामा चुरेमाथि संकट ल्याउने कार्य कहीँकतैबाट पनि गरिनु हुन्न । जैविक विविधताका साथै सुन्दर वातावरणका दृष्टिकोणबाट समेत चुरेलाई जोगाउन जरुरी छ ।