• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चुरे जोगाउन चौबटिया सम्वाद
न्यूज टुडे
राजविराज, २१ कार्तिक ।
दिनदिनै बढेको चुरे विनासप्रति चिन्ता व्यक्त गर्दै मंगलबारदेखि चौबटिया सम्वादको आयोजना गरिएको छ । चुरेको संरक्षण गर्दै यसको दोहन रोक्नका लागि चेतनामूलक कार्यक्रमका रुपमा चुरे नदी प्रणाली संरक्षण, सरोकार पत्रकार समाज जनकपुरले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

सप्तरीको रुपनीमा आयोजित चौबटियामा बोल्दै समाजका अध्यक्ष अनिल कुमार कर्णले चुरे जोगाउन जनमत निर्माणका लागि यस्तो चेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए । उनले चुरेको संबेदनसिल संरचनालाई दोहन गरेर तराई- मधेसमा मरुभूमिकारणको जोखिम बढेको भन्दै यसप्रति जनस्तरबाट समेत खबरदारी आबश्यक रहेको जिकिर गरे । चुरेमा भइरहेको दोहनका कारण त्याहाँका जंगली जनावर दक्षिणतर्फको बस्तीमा पसेर बालिनाली सखाप पार्ने गरेको बताउदै उनले जैविक विविधता जोगाउन पनि चुरेको संरक्षण आबश्यक रहेको जानकारी दिए ।

चौबटिया सम्वादलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष उपाध्याय । फोटो : न्यूज टुडे
नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष व्यासशंकर उपाध्यायले भावी पुस्तालाई सुन्दर पर्यावरण हस्तान्तरणका लागि पनि चुरे जोगाउन आबश्यक रहेको बताए ।
 चुरे तथा बनजंगल संरक्षण राष्ट्रिय अभियानका संयोजक सुनिल यादवले चुरेको समस्या प्रति कुनैपनि राजनितिक दलले चासो नदिएको बताउदै यसलाई चुनावी मुद्दा मात्र बनाउने गरेको गुनासो गरे । उनले राजनीतिक दलप्रति आक्रोश व्यक्त गर्दै चुरे संरक्षणका लागि जनदबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।
डिभिजन बन कार्यालय रुपनीका बन अधिकृत शशिन्द्र यादवले चुरे विनाशले जसलाई सभन्दा बढी समस्यामा पार्छ उसलाई मात्रै यसको महत्त्व थाहा हुने भन्दै चुरे संरक्षणमा सबैले ध्यान दिनुपर्ने आबश्यकता औंल्याए ।
राजमार्ग यात्रा तथा चौबटिया सम्वाद अभियानमा सहभागीहरु । फोटो: न्यूज टुडे
सप्तरीको कंकालिनी मन्दिरबाट सुरु भएको चौबटिया सम्वाद अभियान महोत्तरीको बर्दिवासमा पुगेर सम्पन्न हुने अभियानमा सहभागी पत्रकार अभरेन्द्र यादवले बताए । अभियानमा पत्रकार अनिल कुमार कर्ण, अभरेन्द्र यादव, देवसिंह दनुवार, श्याम ठाकुर, प्रेमशिला यादवलगायतका पत्रकारहरु, सरसफाइ अभियनता पुजा साह, चुरे तथा बनजंगल संरक्षण अभियान्ताहरुको सहभागीता रहेको उनले जानकारी दिए ।