• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिकाले लागू औषध सहित नशाजन्य पदार्थ बिक्री वितरणमा कडाई गर्ने भएको छ । गाउँपालिकाले गत मंगलबार एक सूचना नै जारी गरेर विद्यालय आसपासका क्षेत्रमा यस्ता वस्तुको बेचविखन नियन्त्रण गर्ने भएको छ ।
गाउँपालिकाले मातहतका सबै वडा कार्यालयलाई समेत यस सम्बन्धि पत्राचार गरिसकेको छ । समस्या कृष्णसवरणको मात्र होईन जिल्लाका हरेक जस्तो स्थानमा लागू औषधको सेवन गर्ने क्रम बढ्दो अवस्थामा छ । सदरमुकाम राजविराजमा समेत लागू औषध सेवनको अवस्था यथावह भन्दै गएको सरोकारवालाहरुले बताउने गरेका छन् । यहाँ खुलेका रक्सीभट्टी, मदिराको बढ्दो कारोबार, चिया पसलहरुमा खुलमखुल्ला रुपमा चुरोटमा प्याक गरेर हुने गरेको गाँजा सेवनलाई हेरेर पनि लागू औषध तथा मादक पदार्थको कारोबार बढेको अनुमान लगाउन नसकिने होईन । साँझ पख खुला चउर, मन्दिर परिसर, पोखरीका डिल जस्ता सुनसान स्थानमा गाँजा सेवनकर्ताहरको जनमट नै लाग्ने गरेको भएपनि त्यस्तामाथि प्रहरी प्रशासनले समेत कुनै चासो नलिएको सरोकारवालाहरुले बताउने गरेका छन् । समाजमा अशान्ति फैलाउने, झै–झगडाका साथै आपराधिक घटनामा समेत बढोत्तरी गराउने यस्ता कुलतलाई नियन्त्रण गरिएन भने यसले अपराध नियन्त्रणमाथि नै चुनौति नथपिएला भन्न सकिन्न ।
भारतीय सीमावर्ती क्षेत्रबाट लागू औषध भित्र्याउन संलग्न कतिपयलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही पनि चलाउँदै आएको छ । तर पनि लुकिछिपी यस प्रकारका अवैध धन्दा अहिले पनि हुँदै आएका छन् । अग्निसाईर कृष्णसवरणले वडा स्तर सम्म पत्राचार गरेर जसरी लागू औषध बिरुद्ध चासो देखाएको छ, जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिहरुले पनि रचनात्मक कामलाई अघि बढाउन आवश्यक छ ।