न्यूज टुडे
राजबिराज, १७ कार्तिक।
सप्तरीको राजगढ गाउँपालिका ३ स्थित जनता शंकर माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी कटौती गरेको विरुद्धमा बिधार्थीहरूले बिधालय र गाउँपालिकामा लगाएको ताला शुक्रबार खुलेको छ ।
बिद्यालयका निमित्त प्राधानाध्याक रबिन्द्र साहकाे दरबन्दी कटौती गर्ने निर्णय फिर्ताको माग गर्दै बिधार्थीहरूले गरेको तालवन्दी संघर्ष समितिसंग बिहिवार भएको सहमति बमोजिम २१ दिनपछि ताला खुलेको हो ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको अध्यक्षतामा राजविराजमा बसेको बैठकको निर्णय अनुसार विद्यालय र गाउँपालिका कार्यालयमा लगाइएको ताला खोलिएको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले बताए ।
पालिका अन्तर्गत रहेका सम्पुर्ण विद्यालयहरुमा रहेको विद्यार्थी संख्या, शिक्षक संख्या विषयगत शिक्षकको समेत मध्यनजर गरि आगामी शैक्षिक शत्रको सुरुवातमै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी दरबन्दी मिलान कार्यविधि २०७६ तथा स्थानीय सरकार संचालन ऎन २०७४ बमोजिम तहगत, विषयगत दरवन्दी मिलान कार्य गरि लागू गर्ने, राजगढ गाउँपालिका र विद्यालयमा लगाएको ताला तत्काल खोली कार्यालय र विद्यालय सुचारु गर्ने साथै हाल उक्त विद्यालयमा कमि भएको शिक्षकहरुको व्यवस्थापन गर्ने दुई बुंदे सहमति भएको उनले जानकारी दिए ।
उक्त बैठकमा राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल,प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी प्रमुख एसपी गजुसिद्वी बज्राचार्य, राष्ट्रिय अनुसन्धान सप्तरीका प्रमुख उप निर्देशक सुरेन्द्र कोइराला, शिक्षा, विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख विजय कुमार मण्डल, लोसपा केन्द्रिय महासचिव गजेन्द्र मण्डल, जिल्ला अध्यक्ष सुनिल कुमार झा लगायतका उपस्थिति रहेको थियो ।
यसैगरी रघुनन्दन यादव, विजय कुमार यादव, बालेश्वर शर्मा, रामजगत मण्डल, विजय कुमार यादव, श्रीनन्द मण्डल, परशुराम यादव, विरेन्द्र यादव, कृष्णदेव यादव, राजदेव यादव, रामचन्द्र यादव, रमाकन्त यादव, ललित प्रसाद सिंह, प्रताप विश्वकर्मा, विरेन्द्र कुमार यादव समेतको उपस्थित रहेको थियो ।
बिद्यालयमा शिक्षकको अभाव रहेको अबस्थामा बिधालय ब्यबस्थापन समितिले बिधालयमा आर्थिक अनियमितता गर्न दरबन्दीका शिक्षक कटौती गरेकाे भन्दै बिधार्थीहरूले गत असोज २५ गते दुबै ठाउँमा एकसाथ तलाबन्दी गरेका थिए । विद्यार्थीहरुले निर्णय फिर्ताको माग गर्दै गाउँपालिकामा पटकपटक ध्यानाकर्षण पत्र बुझाउँदा समेत सुनुवाइ नभएको भन्दै आत्मदाह गर्नेसहितको सशक्त आन्दोलन गर्ने चेतावनी दिदै विद्यालय र गाउँपालिकामा तालाबन्दी गरेका थिए ।
राजगढ गाउपालीकाका अध्यक्ष ओम प्रकाश मण्डल, तत्कालिन प्रधानध्यापक नारायण यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादव, प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादब र केही शिक्षकको मिलेमतोमा दरबन्दी बेचिदिएकाे अभिभावकहरूकाे आराेप छ।
बिद्यालयका बर्तमान निमित्त प्राधानाध्याक रबिन्द्र साहलाई दरबन्दी समेत कटौती गरी अन्यन्त्र सरुवा गर्ने षडयन्त्र तत्काल रोक्नका लागि गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउँदा समेत सुनुवाइ नभएकोले संघर्षमा जानू बाध्य भएको बिधालयका जग्गा दाता रामचन्द्र यादबले बताए।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले बिधालयमा आफनो अनुकुल निमित्त प्रधानाध्यापक बनाउन र व्यक्तिगत स्वार्थ सिद्ध गर्न सिनियर दरबन्दी कटौती गरेको उनको आरोप थियो ।
उच्च अदालत जनकपुर ईजलास राजबिराजको आदेश अनुसार विद्यालयमा ०८० बैशाख २७ गते देखि निमित प्रधानाध्यापक रबिन्द्र कुमार साह (मा.शि .द्वितीय) ले जिम्मेवारी पाएको जानकारी दिदै जग्गा दाता रामचन्द्रले हाल सम्म विद्यालयको खाता समेत खोल्न ब्यबस्थापन समितिले असहयोग गरेको कारण शैक्षिक अबस्था अस्तव्यस्त भएको आरोप लगाए ।
बर्तमान प्रधानाध्यापकलाई दरबन्दी समेत कट्टा गरि अन्यत्र पठाई आफू जिम्मेवारीमा आउने दाउमा रहेका पुर्व निमित्त प्रधानाध्यापक तथा नेपाल शिक्षक सँघ सप्तरीका अध्यक्ष समेत रहेका नारायण यादब (मा.शि.तृतिय) ले बरबुझारत समेत गराउन सहयोग नगरेकोले विद्यालय संचालनमा अप्ठयारो भएको विद्यालय प्रशासनले बताउदै आएका छन् ।
दश बर्ष लामो जिम्मेवारीमा रहेका तत्कालिन प्रधानाध्यापक नारायणले विद्यालयको जिम्मेवारी पाए देखि हालसम्मको कुनै किसिमको हरहिसाव नबुझाएको अभिभावकहरूको गुनासो छ ।
दरबन्दी अनुसार विद्यालयमा शिक्षक कमि रहेको अबस्थामा ब्यबस्थापन समिति र शिक्षकहरूको मिलोमतोमा भ्रष्टाचार गरेको र दाताले दिएको जग्गा बेचेकोले सो सम्बन्धमा अख्तियारवाट छानबिन र अनुसन्धान कार्य समेत भईरहेको जनमत पार्टीका गाउँपालिका अध्यक्षका प्रत्यासी उम्मेदवार अशोक कुमार साहले जानकारी दिए ।
विद्यालय र गाउँपालिकामा लगाइएको तालाबन्दी खोल्ने बारे आफुहरुसंग कुनैछ्लफल नै नगरेको भन्दै विद्यार्थीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।