न्यूज टुडे
राजविराज, १७ कार्तिक ।
सप्तरीको विष्णुपुर गाउँपालिका ६ नम्बर वडा कार्यालयमा स्थानीयद्वारा लगाइएको ताला शुक्रबार पनि कायमै रहेको छ । आयव्यय सार्वजनिकलगायतका ४ सुत्रीय माग राखी गत मंगलबारदेखि गरिएको तालाबन्दी चौथो दिनसम्म पनि कायमै रहेको हो ।

आर्थिक बर्ष २०७९/०८० को आयव्यय सार्वजनिक गर्नुपर्ने, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको योजना सार्वजनिक गर्नुपर्ने, कर्मचारी भर्ना प्रक्रिया सार्वजनिक गर्नुपर्ने, उपभोक्ता समिति गठन प्रक्रिया पारदर्शी गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।
वडा अध्यक्ष प्रमानन्द यादवलाई ज्ञापनपत्रसहित पटकपटक माग सम्बोधनका लागि आग्रह गर्दा समेत सुनुवाइ नभएपछि तालाबन्दीसहित कार्यालय अगाडि धर्ना बस्न बाध्य भएको संघर्ष समितिका अध्यक्ष राजेश कुमार राय ( राहुल) ले बताए ।

उनले माग सम्बोधन नभएसम्म तालाबन्दी तथा धर्ना कार्यक्रमलाई जारी राख्ने जानकारी दिए ।
यस बारे वडा अध्यक्ष यादवसंग बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।