राजविराज नगरपालिकामा विगतका तुलनामा सार्वजनिक सौचालयको संख्या बढेको त छ । तर तिनको ठीक तबरले सञ्चालन तथा व्यवस्थापन हुन सकिरहेको छैन । अधिकांश सौचालय फोहर तथा प्रयोग गर्न लायक नै रहेका छैनन् ।
सञ्चालनमा आएका पनि कतिपय अवस्थामा बन्द नै रहने गरेका छन् । उदाहरणकै रुपमा हेर्ने हो भने नगरपालिका कार्यालय अगाडिकै विद्यालयसित जोडिएको सौचालय आफैं फोहर तथा दुर्गन्धको केन्द्र बनेको छ । विद्यालयको झ्यालसितै टाँसेर सौचालय बनाईएको तथा पानी लगायत सरसफाईका सामग्री नरहेका कारण प्रयोगमा आउन नसकेको उक्त सौचालय अहिले लथालिंग अवस्थामा छ । सार्वजनिक रुपमा प्रयोगकालागि नगरपालिकाले खर्च लगाएर सौचालय त बनायो तर प्रयोगमै आउन नसकिरहेका कारणले त्यसमाथि गरिएको लगानी अहिले निरर्थक बनेको छ । सर्वसाधारणको बढी भिडभाड रहने स्थानमा अहिले पनि सौचालयको कमी रहेका पिसाब फेर्नकालागि नाला,भित्ताको प्रयोग गर्न छाडिएको छैन । सार्वजनिक सौचालय बनाएपछि त्यसमा नियमित सरसफाईको व्यवस्था पनि आवश्यक रहन्छ । यसका साथै प्रयोग गरेबापत शुल्क लिएर भए पनि साबुन,पानी जस्ता कुराको व्यवस्था मिलाएर नियमित रुपमा सौचालय खोल्ने व्यवस्था गरेमा मात्र खुला सौचको समस्यामा कमी ल्याउन सकिने छ ।
सौचालय प्रयोगको वानी बस्दै गयो, जथाभावी दिसापिसाब गर्ने क्रम बन्द भयो भने नगरमा फोहरको समस्या पनि घटेर जाने निश्चित छ । नगरपालिकाले यसका बारेमा सोच्न आवश्यक त छ नै । यसका साथसाथै जथाभावी फोहर गर्नेमाथि कडाई गर्ने कार्यक्रम ल्याएर भए पनि नगरलाई स्वच्छ,सफा र हराभरा बनाउन आवश्यक छ । खुला दिसामुक्त घोषणा गरेर पनि नगरमा यो प्रबृत्ति नरोकिएका कारणले सरसफाईमा समेत समस्या बन्ने गरेको अवस्थालाई मध्यनजर गरी यस प्रति चासोका साथ काम गरिएन भने नगर क्षेत्र दुर्गन्धित नै रहनेमा आशंका नरहला ।