न्यूज टुडे
राजविराज, १५ कार्तिक ।
जनता समाजवादी पार्टीका मधेश प्रदेश समितिका मुख्य सचिब दिनेश कुमार यादवले बर्तमान राजनीतिक व्यवस्था परिवर्तनमा पार्टीको अग्रणी भुमिका रहेको बताएका छन् । जसपा खडक नगरपालिकाद्वारा सप्तरीको खडक नगरपालिका ७ स्थित कल्याणपुरमा बुधबार आयोजित नगर स्तरीय संगठन विस्तार अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मुख्य सचिब यादवले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुमा जसपाले अविस्मरणीय योगदान गरेको बताए ।

“जनता समाजवादी पार्टी नेपालको कठोर आन्दोलनको बलमा स्थापना भएको पार्टी हो, मुख्यसचिव यादवले भने, पार्टीले लिएको नीतिका कारण मुलुक संघीय प्रणालीमा गएको छ, जसपाको आन्दोलनको बलमा उत्पीडित समुदायले थोरै पनि अधिकार प्राप्त भएको छ ।” उनले मधेश विद्रोह र अन्य विभिन्न पहिचानजनित आन्दोलनबाट प्राप्त अधिकार संस्थागत गर्न जसपाको संगठन सुदृढ बनाउनु पर्नेमा जोड दिए । उनले आन्दोलनको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए ।
जसपा मधेशी, आदिवासी जनजाति, थारु, दलित मुश्लिम, महिला,अल्पसंख्यक तथा विभेद र अन्यायमा परेको बर्ग समुदायको पार्टी भएको उल्लेख गर्दै नेता यादवले अधिकार सुनिश्चितताको लागि उत्पीडित जातिसमुदाय एकताबद्व हुनुपर्ने आबश्यकता औलाए ।

जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादवले देशमा विकास र सुशासन कायम गर्न मुलुकको तिनैतहको सरकारको नेतृत्व जसपाले लिनुपर्ने बताए । गरिबी बेरोजगारी समस्या अन्त गर्दै समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि जसपाको नेतृत्व आबश्यक रहेको उनको भनाइ थियो । जसपा खडक नगरपालिकाका अध्यक्ष मो.इसराईलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस मञ्च नेपाल सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङ, जसपा जिल्ला कार्यकारिणी समिति सदस्य विनोद कुमार चौधरी, खडक नगरपालिकाका पुर्व नगरप्रमुख हेमायु हक, खडक नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरी, समाजवादी महिला संघ सप्तरीकी अध्यक्ष रमिला साह, क्षेत्र नम्बर ४ का अध्यक्ष अर्विन्द कुमार यादव, खडक नगरपालिकाका कार्यपालिका सदस्य सिंहेश्वर मण्डल, वडा नम्बर ११ का वडा सदस्य राज कुमार साहलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
जसपा नगरसचिव धर्मनाथ यादवद्वारा संचालित कार्यक्रममा स्वागत कोषाध्यक्ष सरिता देवि चौधरीले गरिन ।