• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने समाचारपछि एक ताका त्यसको जश लिन निकै होडबाजी चलेको थियो । यस क्रममा प्रारम्भिक चरणका केही काम पनि भएपछि अव त प्रतिष्ठान स्थापना हुने भयो भन्ने विश्वास पनि बढेकै हो । तर पछिल्लो चरणको संसदीय निर्वाचनपछि यस प्रति चासो र चर्चा क्रमशः घट्दै गयो । प्रतिष्ठान स्थापनाको जश लिने होडबाजीको अन्तर्य निर्वाचनमा आफ्नो पक्षमा जनमत जुटाउन रहेको थियो भनि अहिले टिप्पणी हुन थालेको छ ।
प्रतिष्ठानलाई नै मुद्दा बनाएर जनताका सामु मत माग्न जाने उद्देश्य रहेको थियो भन्ने कुरालाई अहिले निर्वाचनपछि देखाईएको उदासिनताले प्रष्ट पारेको छ । प्रारम्भिक चरणका केही काम भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भच्र्युअल माध्यमबाट प्रतिष्ठानको शिलान्यास पनि गरेका थिए । तर त्यसपछि यस बारेमा कुनै काम अघि बढेन । पाँच वर्ष भित्र निर्माणको काम सम्पन्न गर्ने भनिएकोमा यतिका दिन काम रोकिए पछि आशंका बढ्ने अवस्था आयो । पछिल्लो चरणमा यही विषयलाई लिएर बिरौलका स्थानीयले रिले अनसन सुरु गरेका छन् । तथापि १९ दिन बितिसक्दा पनि यस बारे सरकारले आफ्नो धारणा अघि सारेको छैन । जनताले उचित माग लिएर शान्तिपूर्ण रुपमा अनसन थालेका विषयमा सरकारले सुनुवाई नगर्दा कतै ऊ शान्तिपूर्ण आन्दोलनलाई महत्व नदिने पक्षमा त छैन ? भन्ने आशंका उठ्नुलाई अस्वाभाविक भन्न सकिन्न ।
अनसन स्थलमा कतिपय पार्टीका नेता र जनप्रतिनिधि समेत पुगेर समर्थन जनाउने त गरेका छन् । उक्त अवसरमा उनीहरुले दिएको आश्वासन तथा गरेका प्रतिबध्दता पनि पूरा भएका छैनन् । प्रतिष्ठान निर्माणको कामलाई सुचारु गर्न माग सहित थालिएको शान्तिपूर्ण आन्दोलनको सुनुवाई गरेर सप्तरीवासी जनताका भावनाको कदर गर्न आवश्यक छ ।