सप्तरीका बजारमा गरिने अनुगमनका क्रममा जहाँ पनि गुणस्तरहीन सामान भेटिने गरेको क्रम जारी छ । दशैं अघि गरिएको अनुगमनका क्रममा जसरी गुणस्तरहीन सामग्री भेटिएको थियो,त्यो क्रम अहिले पनि जारी नै छ ।
उपभोक्तालाई मूल्य लिएर पनि घटिया सामान बेचिन्छ भने त्यो सरासर गैरकानूनी हो । यस प्रकारका कमजोरीमाथि कडाई नगर्ने हो भने उचित मूल्य तिरेर पनि उपभोक्ताले गुणस्तरहीन सामान नै उपभोग गर्नु पर्ने अवस्था नरहला भन्न सकिन्न । पटक पटक गरिएको अनुगमनका क्रममा यस प्रकारको कमजोरी भेटिन्छ भने सरोकारवाला निकायले यस प्रकारको कमजोरीमा मूकदर्शक बनेर बस्न मिल्दैन । भन्नाकालागि अनुगमन गरिएको भनिएला । तर त्यसबाट सकारात्मक परिणाम आएन भने कमी कमजोरी छ भन्ने महशुस गरेर बजारमा बेचिने गुणस्तरहीन सामानमा प्रतिबन्ध लगाउनै पर्ने हुन्छ ।
मुनाफा मात्र कमाउने अनि उपभोक्तामाथि शोषण र ठगी नै गरिरहने हो भने यो सरासर ज्यादती नै मानिन्छ । यस प्रकारले उपभोक्तामाथि अन्याय गर्न मिल्दैन । उपभोग्य सामग्री गुणस्तरहीन भएमा त्यसले उपभोक्ताको स्वास्थ्यमा समेत असर गर्ने भएका कारण यसमा हेलचेत्र्mयाइँ गर्न मिल्दैन । जति पटक बजार अनुगमन गरिन्छ उत्तिकै पटक म्याद गुज्रेका,अखाद्य रंगको प्रयोग भएका,वासी तथा सडेगलेका खाद्य पदार्थ समेत बेचिने गरेको भेटिनाले बजारमाथिकै विश्वासमाथि आशंका गर्ने अवस्था आउन सक्दछ ।
यस प्रकारका बेथितिमाथि पूर्ण नियन्त्रण नभएमा यसले फेरि पनि उपभोक्ताले ठगिने अवस्था आउन सक्ने भएका कारण सरोकारवाला निकायले चासो लिन आवश्यक छ ।