राजविराजमा अस्तिदेखि महोत्सव सुरु भएको छ । व्यापार प्रबद्र्धन, उद्योग तथा कृषि क्षेत्रमा उत्थानको उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको हो ।
सप्तरीमा पनि स्थानीय उत्पादनमा आधारित उद्योग स्थापनाको सम्भावना प्रचुर रहेको बताईन्छ । बेलाबखत यस्ता उद्योग स्थापनाकालागि जोडतोडका साथ कुरा पनि उठाउने गरिएको छ । तर व्यवहारमा भने भएका उद्योगको अवस्था पनि शिथिल बन्दै गएको छ । यसको उदाहरणकालागि गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अवस्था हेरे पुग्नेछ । उक्त औद्योगिक क्षेत्रभित्र स्थापित मध्ये धेरै उद्योगको अवस्था सन्तोषजनक नरहेको,स्थापित कतिपय उद्योग बन्द भईसकेको तथा उद्योगलाई टिकाउनकालागि सरकारी स्तरबाट जेजस्तो सुबिधाका कार्यक्रम ल्याउन आवश्यक थियो त्यो नभएका कारणले उद्योग संकटमा परेको कुरा सजिलै बुझ्न सकिन्छ ।
स्थानीय स्रोत साधनमा आधारित उद्योग स्थापना गर्न सकेमा तिनको लागत कम हुने तथा यसले उद्योगकालागि कच्चा पदार्थको उत्पादकत्व बढाउनु पर्ने भएका कारणले यसबाट कृषि क्षेत्रको पनि विकास हुन सक्ने दोहोरो सम्भावना छ । तर पनि सरकारले यस प्रकारका उद्योग स्थापनाकालागि प्रोत्साहन दिने, उद्योगीले भोग्दै आएका समस्याको समाधान गर्ने तर्फ रुची नलिँदा जिल्लामा उद्योगधन्दा फस्टाउन नसकिरहेको अवस्था विद्यमान छ ।
यसका बाबजुद पनि राजविराजमा महोत्सवको आयोजना गरिएको छ । यस्ता महोत्सवको आयोजना गरिनु बाहिरी रुपमा सकारात्मक मान्न सकिएला । तर यसका साथसाथै यसले यहाँको उद्योग धन्दा, व्यापार तथा कृषि क्षेत्रको समेत सम्बध्र्दन हुने गरी कार्यक्रम ल्याउन सकियो भने मात्र उद्देश्य प्राप्तीमा सघाउ पुग्ने अपेक्षा लिन सकिने छ ।