न्यूज टुडे
राजविराज, १३ कार्तिक ।
सप्तरीको रुपनी गाउँपालिका ६ तेरहौतामा सोमबार एक ३५ बर्षिय युवाको शव झुन्डिएको अवस्था फेला परेको छ । स्थानीय उत्तिमलाल साहको छोरा संतोष साहको शव झुन्डिएको अबस्थामा फेला परेको हो ।
घरदेखी ८ सय मिटर पश्चिम आँप बगैंचामा डोरिको पासो लगाएर झुन्डिएको अबस्थामा साहलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।

आइतबार राती गाउँका अगुवाहरुबाट दुर्व्यवहारमा परेपछि परिवारसंगै सुतेको बेला कसैलाई थाहा नदिई घरबाट निस्किएका उनलाई खोजी गर्ने क्रममा झुन्डिएको अबस्थामा सोमबार विहान मृत भेटिएको स्थानीयले बताएका छन् ।
दुई छोराको बुवा समेत रहेका स्वर्गीय साहको श्रीमति सित केहि समयदेखि सम्बन्ध विग्रीएको स्थानीयको भनाइ छ । श्रीमतिलाई समाजको दवावमा इलाका प्रहरी कार्यालय रुपनीमा आइतबार मिलापत्र गरि पुनः साहको जिम्मा लगाएर राती ८ बजे दुबैदम्पतिलाई रुपनी ६ कलुवा स्थित घरमा ल्याइएको थियो ।

सम्बन्ध बिग्रीएकी श्रीमतिलाई घरमा ल्याउनुपर्दाको पिडाले सताइएका उनलाई गाउँ समाजबाट समेत हातपात तथा दुर्व्यवहार भएपछि तनावमा आएर आत्महत्या रोजेको हुनसक्ने आशंका स्थानीय बासीको छ ।
स्वर्गीय साह ९ बर्ष वैदेशिक रोजगारीबाट ४-५ महिना अगाडि मात्र स्वदेश पर्किएको स्थानीयले बताएका छन् । मृतक साहको शव परिक्षणका लागि राजविराज पठाएको रुपनी गाउँपालिका ६ का वडा सदस्य श्यामसुन्दर यादवले बताए ।