दशैंको समयमा घर फर्किनेको लर्को लाग्छ । यसै समयमा सार्वजनिक यातायातमा कोचमकोच भिड हुने गर्दछ । यात्रु बढी रहेका कारण गन्तव्यमा पुग्नेबित्तिकै सवारी साधन अर्को ट्रीपका लागि फर्किहाल्ने गरेका कारण दुर्घटनाको जोखिम पनि बढी हुने गरेको छ ।
ठूला चाडवाडको समय पारेर विशेष सुरक्षा योजना पनि बनाईन्छ, सडकमा ट्राफिक प्रहरीको तैनाथि पनि बढाईन्छ । तर पनि यस्तो समयमा कतै न कतै दुर्घटना भईनै रहेको देखिन्छ । यसपालिको दशैंमा पनि विभिन्न ठाउँमा दुर्घटना भएका छन् । यातायातका साधनलाई बढी ट्रीपमा यात्रु ओसार्न लगातार चलाई रहने, एउटै चालकबाट लामो दूरीको सार्वजनिक यातायात चलाउने, तिब्र गति तथा सवारी साधनको नियमित चेक जाँच र मर्मत सम्भारमा ध्यान दिनुको साटो यात्रु ओसार्न मै प्रयोग गरिने गरेका कारणले बढी दुर्घटना हुने गरेका छन् ।
सुरक्षा योजना लागू गरेर पनि सडक दुर्घटनामा कमी हुँदैन भने यस्तो अवस्थामा अझै चनाखो भएर सार्वजनिक यातायातमा चेक जाँच बढाउन जरुरी हुन्छ । सुरक्षा योजना त लागू गरियो तर परिणाम चाँही सकारात्मक आएन, दुर्घटना बढी नै रह्यो भने सुरक्षा सतर्कता बढाउनै पर्दछ । यात्रुको चाप बढेको समयमा सुरक्षित यात्राको कुरा नजरअन्दाज गर्ने, लापरवाहीका साथ सवारी साधन चलाउने हो भने दुर्घटनाको सम्भावना पनि बढी रहन्छ ।
अहिले दशैं मनाएर पुनः काममा फर्किनेहरुको संख्या बढ्दो क्रममा छ । यस्तो समयमा पनि सार्वजनिक यातायातका साधनमा भिडभाड रहने भएका कारण यात्रुले सुरक्षित यात्रा गर्न पाऊन् भन्नाका लागि आवश्यक चेक जाँच नियमित राख्नु पर्ने आवश्यकता त छनै । यात्रु स्वयम्ले पनि यसप्रति ध्यान पु¥याउनु जरुरी छ ।