राजकुमार साह
कञ्चनपुर, ११ कार्तिक ।
सप्तरीको कंचनरुप नगरपालिका ४ मा शनिबार संविधान सभा सदस्य मानपुर चौधरीको तेस्रो स्मृति दिवस मनाइएको छ । नेकपा माओवादी केन्द्र जिल्ला कार्य समिती सप्तरी तथा कंचनरुप नगरपालिकाको आयोजनामा संविधान सभा सदस्य चौधरीको तेस्रो स्मृति दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै बक्ताहरुले चौधरीको स्मृतिमा प्रतिष्ठान गठनको लागि जोडदार माग गरेका छन् । प्रतिष्ठान गठनको माग उठेपछि कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य महेन्द्र पासवानले चौधरीको स्मृतिमा प्रतिष्ठान गठन गर्ने प्रतिबद्धता व्यक्त गरे । पुर्व भुमिसुधार मन्त्री समेत रहेका पासवानले चौधरीको स्मृतिमा बन्ने प्रतिष्ठानमा सहयोग गर्ने बताए । स्वर्गीय चौधरी निवास कञ्चनरुप –४ मा आयोजित कार्यक्रममा बोल्दै पासवानले प्रचण्ड हाल सबै नेताको नेता रहेको बताए । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको विरुद्धमा कामगरी रहेको पासवानले दावी गरे । कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ताले समेत प्रतिष्ठान गठनमा सहयोग गर्ने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पुर्व सिचाइ मन्त्री उमेश कुमार यादव , नेता सरस्वती चौधरी ,बिमल रजक लगायतले स्वर्गीय चौधरीको योगदानको बारे चर्चा गरे ।
कार्यक्रममा कञ्चनरुप पालिकाका पुर्व नगरप्रमुख एवम् नेकपा एमाले नेता वसन्त मिश्र , जसपाका प्रदेश सदस्य भोला पासवान, जिल्ला कार्यकारिणी समिति सदस्य रामेश्वर यादव, नगर अध्यक्ष सुदम्बर यादव , जनमत पार्टीका नेता रामदेव खंग, स्थानीय देव नारायण चौधरी, शिक्षक ,पत्रकार , कञ्चनरुप ,सप्तकोशी , सुरु·ा नगरपालिका, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका नेकपा माओवादी केन्द्रको नेता तथा कर्याकर्ता लगायत समाजसेवीहरुको सहभागिता थियो। चौधरी नेकपा माओवादी केन्द्र पार्टीको तर्फबाट सप्तरी क्षेत्र नम्बर १ बाट दोस्रो संविधान सभाको सदस्य निर्वाचित भएको थियो । चौधरीको जन्म २०१८ माघ २८ गते भएको थियो भने कोभिड–१९ को महामारीको बेला कोभिडबाट संक्रमित भएर २०७७ कार्तिक ११ गते उपचारको क्रममा ५९ बर्षको उमेरमा मृत्यु भएको थियो ।