• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मुलुकमा आएको ऐतिहासिक परिवर्तनका क्रममा विभिन्न समूदायले आ–आफ्नो पहिचानकालागि पनि अग्रसरता देखाउन थालेका छन् ।

पहिचानकालागि आफूहरुको भाषा, संस्कृति, परम्पराको उत्थान तथा जगेर्ना होस् भन्ने उनीहरुले माग अघि सार्दै आएका छन् । लोकतन्त्रकालागि भएको आन्दोलनकै क्रममा परिवर्तन आएपछि यस्ता कुराहरुको ग्यारेण्टी नै हुने भनि आन्दोलनको अगुवाई गर्ने राजनीतिक दलका नेताहरुले जनता समक्ष कबुल पनि नगरेका होईनन् । विभिन्न जातजाती,भाषाभाषीहरुको माग अहिले पनि उक्त कबुल व्यवहारमा लागु हुनु पर्छ भन्ने नै रहेको छ । सप्तरीको कठौनामा तीन दिन अघि आयोजना गरिएको एक कार्यक्रममा पनि यस विषयमा कुरा उठेको छ । थारु भाषा साहित्य केन्द्र सप्तरीले आयोजना गरेको शुभकामना समारोहका सहभागीहरुले थारु भाषाको संरक्षणको विषयलाई उठाएका छन् । विभिन्न जिल्लामा बसोबास गर्ने थारुहरुको जिल्लैपिच्छे जसो थोरबहुत फरक देखिने गरेका कारण यसलाई एकीकृत गरेर लिपिबध्द तुल्याउनु पर्नेमा माग गरेका छन् ।

विभिन्न भाषा तथा संस्कृतिको साझा बासस्थानका रुपमा चिनिएको नेपालमा सबै भाषाको जगेर्ना कसरी गर्न सकिन्छ भन्नेमा पहिले सरकारले ध्यान पुर्याउन आवश्यक छ । विविधताका वीच एकता नेपालीहरुको मौलिकता र विशेषता समेत रहेका कारण यिनै भाषा संस्कृतिका माध्यमले हामीले विश्व समूदाय समक्ष आफ्नो पहिचान तथा छुट्टै अस्तित्व समेत देखाउन सक्ने भएका कारण यिनको जगेर्नामा उदासिनता देखाउन कदापि मिल्दैन । संरक्षणको अभावमा यी पौराणिक भाषाहरु लोप भएर जाने अवस्था आयो भने यसले पहिचान पनि हराउने भएका कारण यस विषयमा गम्भीरता देखाउन जरुरी छ ।