राजविराज, ९ कार्तिक ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा ४१ परिवार भुमिहिन सुकुम्बासी र दलित सुकुम्बासीका लागि अध्यक्ष सुरक्षित आवास निर्माण हुने भएको छ । अग्नीसाईर कृष्णासवरन गाउँपालिका, ह्यविट्याट फोर हुमानिटी नेपाल र महुली सामुदायिक विकास केन्द्र बकधुवाको त्रिपक्षीय साझेदारीमा ४१ वटा सुरक्षित आवास निर्माण गरिने भएको हो ।
पेभिङ्ग द वे फर इक्वल हाउजिङ्ग एण्ड राइट कार्यक्रम अन्तर्गत चालू आव,२०८०/०८१मा वडा नम्बर १ स्थित बेहराचाँपमा २७ र वडा नम्बर २ स्थित चौफालमा १४ गरि ४१ वटा घर निर्माण गरिने कार्यक्रम रहेको एमसिडिसीका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीले जानकारी दिए ।

महुली समुदायिक विकास केन्द्र बकधुवा सप्तरीद्वारा वडा नम्बर १ स्थित बेहराचाँपमा विहिबार आयोजित एक समारोहका विच आवास निर्माण कार्यक्रमको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अर्विन्द कुमार चौधरी, महुली सामुदायिक विकास केन्द्रका अध्यक्ष श्यामकान्त चौधरी र कार्यकारी सचिब एवम् निर्देशक प्रभु नारायण चौधरीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
सुरक्षित आवास शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष चौधरीले आवास निर्माणसम्म पुग्नेबाटो र विजुलीसहितको पुर्वाधार निर्माणको कार्य गाउँपालिकाबाट चाँडै गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वडा नम्बर १ का वडा अध्यक्ष सबजुल खलिफाले नयाँ बस्तीसम्म जानको लागि नालासहितको बाटो तथा अन्य आधारभुत पुर्वाधारका कार्यहरुमा वडाबाट सहयोग गर्ने बताए ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष तेज नारायण यादव, राष्ट्रिय भुमी आयोग सप्तरीका विज्ञ सदस्य पन्चदेव चौधरी, नापी कार्यालय राजविराजका नापी अधिकृत धर्म नारायण ठाकुरलगायतका स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त आवास निर्माणका लागि लाभग्राही मध्येका आशा कुमारी सरदारको अध्यक्षतामा सचीव महोन कुमार मगर र कोषाध्यक्ष हरिहरदेवी सदा कोषाध्यक्ष रहेको ७ सदस्यीय उपभोक्ता समिती गठन भएको महुली सामुदायिक विकास केन्द्रले जनाएको छ ।
गाउँपालिकाको १ करोड, ह्यविट्याटको ८२ लाखको सहयोग तथा घरधनीहरुको ५१ लाख ७० हजार ६ रुपैयाँ श्रमदान गरि कुल २ करोड ३३ लाख ६ रुपैयाँको लागतमा अध्यक्ष सुरक्षित आवास निर्माण गरि आगामी फागुनसम्ममा जग्गाको स्वामित्वसहित लाभग्राही परिवारलाई घर हस्तान्तरण गरिने कार्यकारी सचिब एवम् निर्देशक चौधरीले जानकारी दिए ।
महुली सामुदायिक विकास केन्द्रको सक्रियतामास्थानीय पालिका र ह्यविट्याटको सहयोगमामा यस अघिसमेत अग्नीसाईर कृष्णासवरन गाउँपालिका र शम्भुनाथ नगरपालिकाको विभिन्न वडामा सुरक्षित आवास निर्माण गरि सयौं भुमिहिन सुकुम्बासी,दलित सुकुम्बासी, एकल महिला, अशक्त तथा विपन्न परिवारलाईलाई घर हस्तान्तरण गरिसकेका छन् ।