दशैंमा घर फर्किनेहरुको संख्या बढे संगै सार्वजनिक यातायातका साधनमा अहिले खचाखच भिड बढ्न थालेको छ । यात्रु बढी रहेका कारण सार्वजनिक यातायातमा साबिक भन्दा दुई गुणा बढाएर भाडा लिने गरिएको थुप्रै गुनासो पनि छ ।
कतै कतै यसरी उठाएको भाडा प्रहरीले फिर्ता पनि गराएको छ । तर अधिकांश यात्रु चाहिँ यसरी नै विवशतामा दोब्बर भए पनि भाडा तिरेरै दशैं मनाउन घर गईरहेका छन् । यस प्रकारको शोषण भईरहँदा पनि सरकारले न आम जनतालाई सुलभ यातायातको व्यवस्था मिलाउन सकिरहेको छ न त्यस्तामाथि कारवाही नै गरेको अवस्था छ । कतै कतै एक दुई सवारीका साधनमा चेक गरी भाडा बढी लिएको आरोपमा कारवाही चलाएर मात्र समस्याको समाधान निस्कने होईन । मुख्यतः चाडबाडमा यात्रु शोषणमा पर्ने गर्छन् भन्ने कुरा सरकारलाई थाहा भएकै विषय हो । प्रत्येक वर्ष दशैंमा यसरी नै बढी भाडा लिने गरिन्छ । यस्तै पाराले दशैं पनि सकिन्छ अनि एक वर्षसम्मकालागि यो समस्याको थान्को लागेपछि कसैले पनि यसका बारेमा सोच्ने गरेको पाइँदैन । फेरि पनि अर्को वर्ष दशैं आउँछ र यस्तै विकृति दोहोरिन्छ भन्ने कुरालाई ध्यानमा राखेर उचित कदम चाल्न सक्दा मात्रै यात्रुमाथि परिरहेको मार मत्थर हुन सक्नेछ । होईन भने जुनै सरकार आए पनि यस प्रकारको विकृति कायमै रहनेमा आशंका रहँदैन ।
दशैंमा आउने यस प्रकारका समस्याको स्थायी समाधानको उपायतिरन नलाग्ने हो भने भ्रष्टारकै एक उदाहरणका रुपमा रहेको यो विकृति जरो गाडेरै बस्नेमा शंका मान्नु पर्ने छैन ।