न्यूज टुडे
राजविराज, ३ कार्तिक ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकेको भन्दै स्थानीयवासीले थालेको अनिश्चितकालिन रिले अनशनलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएका छन् । अनशनलाई समर्थन जनाउदै नागरिक उन्मुक्ति पार्टीका नेताकार्यकर्ता शुक्रबार स्थानीयसंगै अनशन बसेका हुन् ।
स्थानीयको उठाएको प्रतिष्ठान निर्माणको जायज माग यथाशीघ्र सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउन अनशन बसेर ऎक्यबद्वता जनाएको नागरिक उन्मुक्ति पार्टीका नेता तुलसी थारुले बताए ।
उक्त अवसरमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सदस्यका उम्मेदवार टीका लक्ष्मी चौधरीलगायतका केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय नेताकार्यकर्ता अनशनमा सहभागी भएको उनले जानकारी दिए ।
स्थानीय राम कुमार दासको नेतृत्वमा जारी २४ घण्टे रिले अनशनलाई (शुक्रबार ) आठौं दिनपनि निरन्तरता दिइएको छ । शिलान्यास भएको २५ महिना वितिसक्दा पनि हुन नसकेको प्रतिष्ठानको निर्माण कार्यलाई यथासिघ्र अघि बढाउनु पर्ने, प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरुमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नु पर्ने, प्रतिष्ठान निर्माणका लागी आवश्यक बजेटको व्यवस्थापन गर्नु पर्ने लगायतका ५ बुँदे मागअघि सार्दै शुक्रवारदेखि सुरु गरेको रिले अनशन जारी राखेको स्थानीयले बताएका छन् ।
पाँच वर्ष भित्रै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिसक्ने भनिए पनि सरकारले शिलान्यास गरेको २ वर्ष नाघि सक्दा पनि निर्माण नै सुरु नगरेको भन्दै आक्रोशित स्थानीयहरु अनशन बसेका छन् ।
प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) निर्माण गर्ने बाहेक अरु केही काम भएको छैन, संघर्ष समितीका संयोजक दासले भने, प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा चुनावी मुद्दा बनेको प्रतिष्ठान यतिबेला अलपत्र अवस्थामा रहेको र कसैले चासो नदेखाएपछी आन्दोलनमा उत्रिनु बाध्य भएका छौं ।
एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुयल माध्यमबाट शिलान्यास गरेका थिए । तर २५ महिना वितिसक्दा पनि भवनको त कुरै भएन, एउटा इट्टा सम्म नहालिएको स्थानीयको भनाई छ ।
प्रतिष्ठानको गजेन्द्र नारायण सिंह अस्पतालको एउटा कोठा लिएर संचालनमा ल्याइएको पुर्वाधार तयारी विकास समितीको कार्यालय अहिले बोर्डमा मात्र सिमित भएको छ । समितीका अध्यक्ष डा.रोहित पोखरेल प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेपछी अर्काे अध्यक्ष नियुक्त गरिएको छैन ।
गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालिन मेडिकल सुपरिटेण्डेण्ट एवम् प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि १ वर्ष यता कार्यकारी निर्देशकको पद समेत रिक्त छ । यस्तै प्रष्ठिानमा कार्यरत ३ जना कर्मचारीको करार म्याद सकिएपछी प्रतिष्ठान कर्मचारी विहीन बनेको छ ।
पदाधिकारी विहीन समितिको कार्यालयमा लाखौं रुपैया खर्चेर खरिद गरिएका समान थन्किएका छन् । प्रतिष्ठानको पुर्वाधार तयारी विकास समिती कार्यालयको लागि आर्थिक वर्ष २०७५÷०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैया बजेट विनियोजन भएको छ ।
जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैया खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुँपैयाको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।
स्थानीयले थालेको अनशनलाई राजनीति दल, जनप्रतिनिधि, युवा, पत्रकारलगायतको विभिन्न पेशागत संघसंस्थाले समर्थन गर्दै आएको छ ।