न्यूज टुडे
राजविराज, ३ कार्तिक ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य एवम् पुर्व कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राज कुमार लेखीले कोशी टप्पु बन्यजन्तु आरक्षबाट सिर्जना हुने समस्या समाधानको विषय निरन्तर छलफल हुनुपर्नेमा जोड दिएका छन् । आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र काठमाडौंद्वारा उदयपुरको बेलका नगरपालिका २ पुरनदहमा शुक्रबार आयोजित नेपालको राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रमा अधिकारमा आधारित संरक्षण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै लेखीले आरक्षबाट उत्पन्न समस्या समाधानको छ्लफलको विषयलाई वडा स्तरसम्म पुर्याउनु पर्नेमा जोड दिए ।
उनले आरक्ष क्षेत्र वरिपरिका बासिन्दाको समस्या बारे अध्ययन अनुसन्धान गर्दै समस्या समाधानका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन आग्रह गरे ।
कोशी टुप्पु बन्यजन्तु आरक्षको संरक्षण तथा स्थानीयलेबासीको समस्या समाधानका लागि आफू पदमा नहुँदा समेत पटकपटक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको बताउदै पुर्व मन्त्री लेखीले अनुसन्धान प्रारम्भ भएकोले सफलताको लागि सबैको साथसहयोगको खाँचो रहेको बताए ।
आफ्नो आग्रहमा देशको ४ राष्ट्रिय निकुञ्जमध्ये कोशी टप्पुमा बन्यजन्तु आरक्ष केन्द्रमा समेत अनुसन्धानको कार्य सुरु गरेकोमा खुशी व्यक्त गर्दै प्रमुख अतिथि लेखीले स्थानीय आदिवासीको समस्यालाई सम्बोधन गर्ने किसिमले परिणाम आउने ढंगले प्रभावकारी रुपमा काम अगाडि बढाउनु पर्नेमा जोड दिए ।
आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष पासाङ शेर्पाले अनुसन्धान पछि स्थानीयको पक्षमा ऎन कानुन बनाउन पैरवी गर्ने उदेश्यकासाथ कार्यक्रम संचालन गरेको बताए । उनले अनुसन्धानको क्रममा पाएको विषयलाई टेकेर ऎन, कानुन परिमार्जन हुने भएकोले आरक्षको संरक्षण र स्थानीयको समस्या समाधानमा टेवा पुग्ने विश्वास व्यक्त गरे । बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले अनुसन्धानले बर्तमान कानुनी समस्या सम्बोधन गराउन मद्दत पुग्ने बताए ।
कार्यक्रम संचालन भएकोमा खुशी हुँदै उनले अनुसन्धानलाई प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णा प्रसाद ढकालले कानुनी आधार बलियो नहुँदा चाहेर पनि जनताको समस्या सम्बोधन गर्न नसकेको बताए । आदिवासी जनजातिको एतिहासिक संस्कृतिलाई जगेर्ना गरि उनीहरुले प्रत्येक्ष फाईदा लिने गरि कानुन परिमार्जनको आबश्यकता रहेको औलाउदै उनले कोशी टप्पु बन्यजन्तु आरक्षको समस्या सम्बोधनका लागि कानुन संशोधन अपरिहार्य रहेको टिप्पणी गरे ।
आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रकी निर्देशक डा. पासाङ डोल्मा शेर्पाले आदिवासी जनजातिहरुको परम्परागत ज्ञान, सीप ,शैलीमाको विकास र आरक्षको संरक्षण कसरी गर्न सकिन्छ भन्ने उदेश्यकोसाथ अनुसन्धान गरिने बताइन् ।
आदिवासी जनजातिहरुको प्रथाजन्य कानुनलाई कानुनी मान्यता दिदै लोपोन्मुख संस्कार संस्कृति,खानपिन तथा श्रोतलाई संरक्षण गर्न अन्तर्राष्ट्रिय स्तरमै आवज बुलन्द पार्न अनुसन्धानले सहयोग पुग्ने उनको भनाइ थियो ।
अन्तरक्रिया कार्यक्रममा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्रसंग जोडिएको बेलका, सप्तकोशी, कंचनरुप नगरपालिका लगायतका मेयर-उपमेयर, वडा अध्यक्षहरु, कोशी टप्पु बन्यजन्तु आरक्षण केन्द्रका वार्डेन, मध्यवर्ती क्षेत्रका अध्यक्ष एवम् प्रतिनिधि, आदिवासी जनजाति आवद्ध संघसंस्थाका दुबै जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।