गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरेको विनाशप्रति गहिरो चिन्ता व्यक्त गर्दै आएका छन् । उनले चुरे संरक्षण नभए तराई–मधेश मरुभूमिकरण हुने कुरा धेरै अगाडि नै बताएका छन् ।
उनको त्यस बेलाको अभिव्यक्ति अहिलेको अवस्थालाई हेर्दा सत्य सावित हुँदै गएको छ । तराई मधेश अन्नको भण्डारका साथसाथै जलस्रोतको पनि प्रचुरता भएको भूमि हो । मुलुकमै अन्न उत्पादनमा अग्रणी रहेको तराईमा खाद्यान्न, नगदेबाली, तरकारी, माछामासुका साथसाथै दुग्ध उत्पादनमा पनि प्रथम स्थानमा रहेको कुरा सबैले महशुस गरेकै विषय हो । तर चुरे विनाशका कारणले यहाँको जलसतह घट्दै जानु, मधेश प्रदशकै जिल्लामा पानीको अभाव देखिन थालेको कारण अब पनि सचेत नहुने हो भने केही वर्षपछि यहाँ मरुभूमिकरण नै नहोला भन्न सकिन्न ।
तसर्थ पानीको अभाव हुन थालेको अवस्थालाई मध्यनजर गरेर चुरेको संरक्षणतर्फ आजैदेखि लाग्नु पर्ने आवश्यक छ । यसका लागि चुरे क्षेत्रबाट निकालिने बालुवा, गिट्टी, कंक्रिट निकाल्न बन्द गर्नु पर्छ । यसका साथै उजाडिंदै गरेको चुरे क्षेत्र पुनः हरियाली कायम गरिनु पर्दछ । साथसाथै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउँदै चुरै जोगाउनका लागि स्थानीय जनताको समेत साथ सहयोग लिन सकियो भने मात्र यसमाथि भईरहेको दोहन रोकिने छ ।