न्यूज टुडे
राजविराज, २ कार्तिक ।
जनता समाजवादी पार्टीका नेता एवम् राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले जसपा उपेक्षित, अपहेलित र पछाडि पारिएका जाति समुदायको पार्टी भएको बताएका छन् ।
जनता समाजवादी पार्टी शम्भुनाथ नगरसमितिद्वारा शम्भुनाथमा बिहिवार आयोजित शुभकामना आदानप्रदान तथा संगठन विस्तार अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेता यादवले संघीयता पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चितता मुल लक्ष्य लिएर पार्टी स्थापना भएको बताए ।

मन्तव्य व्यक्त गर्दै राजनीतिक समिति सदस्य विनोद चौधरी । फोटो: न्यूज टुडे
जसपाले मात्र मुलुकमा सदियौदेखी विभेद, भेदभाव अन्याय र अधिकारबाट बन्चित जाती, समुदाय र लिंगको अधिकार स्थापित गर्ने दावी गर्दै पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् मधेश प्रदेशका इन्चार्ज समेत रहेका पुर्व मन्त्री यादवले टोल-टोलमा पार्टी संगठन विस्तार अभियान लिएर जान नेताकार्यकर्तालाई आग्रह गरे । मधेशी, थारु आदिवासी जनजाति, दलित, मुश्लिम समुदायले अझै समान अधिकार पाउन नसकेको उल्लेख गर्दै उनले अधिकार सुनिश्चितताको लडाइँका लागि संगठन निर्माणमा जोड दिए ।
शासकहरुले उत्पिडनमा परेका समुदाय विच विभाजन ल्याएर उनिहरुमाथीनै शासन गरिरहे चर्चा गर्दै उनले देशमा रहेका जातिय ,भौगोलिक लैंगिकलगायतका सबैखाले भेदभाव विरुद्ध एकजुट भएर संघर्ष गर्नुपर्ने आबश्यकता औंल्याए ।
“अधिकार कसैले मागेर दिदैन, उनले भने, खोसेर लिनुपर्छ, त्यसको लागि प्रमुख आधार संगठन नै हो, अधिकार छिनेर लिनको लागि संगठन सुदृढीकरण तथा विस्तार हुनु अपरिहार्य हुन्छ ।”
उनले गरिव धनी विचको खाडल अन्त्य भई स्वदेशमै रोजगारी स्थापना गरि बेरोजगारी समस्या हल नभएसम्म संघर्ष जारी राख्नुपर्नेमा जोड दिए ।
राजनीतिक समिति सदस्य विनोद चौधरीले पार्टीले सरकारको नेतृत्व गरेपनि सहयोग नपाउँदा कार्यकर्ता माझ असन्तुष्टि बढेको बताए । पार्टी नेतृत्वको सरकारले कार्यकर्ताको भवानालाई सम्बोधन गर्न नसक्दा पार्टी कार्यकर्तामा विचलनको साथै निराशा उत्पन्न भएको उनको भनाइ थियो ।

जसपा अध्यक्ष केदार प्रसाद यादव । फोटो: न्यूज टुडे
नगर समितिका कार्यबाहक अध्यक्ष संसारीदेवि चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेश समिति सदस्य एवम् जिल्ला समवन्य समिति सप्तरीका प्रथम सभापति प्रभाकार यादव, अमृत साँफी, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, सचिब हरेराम यादव, प्रेस मञ्च नेपाल सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङ, जिल्ला सदस्य लाल बहादुर मेहता, युवा नेता राजेश कुमार राय, रेमन्तकान्त चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रमको संचालन स्थानीय युवा नेता सचिदानन्द माझीले गरेका थिए ।