सप्तरीका कतिपय सामुदायिक विद्यालयमा अहिले विभिन्न विषयलाई लिएर विवाद चलेको छ । कतै प्रधानाध्यापक कसलाई बनाउने भन्ने कुरामा विवाद छ भने कतै आर्थिक कारोबारमा अनियमितता गरेको, सूचना नदिएको, हरहिसाव सार्वजनिक नगरेको लगायतका कुरालाई लिएर विवाद चलेको हो ।
सामूदायिक विद्यालयहरूमा चल्ने गरेका यस्ता विवादले कुनै लाभ त नहोला तर यसले पठनपाठनमा चाहीँ पक्कै पनि प्रभाव पार्ने कुरा निश्चित नै छ । विवाद सुरु हुने भनेको पद्धति मिचिएपछि नै हुने हो। नियम कानूनको पालना गर्ने, आर्थिक अनुशासनमा रहेर काम गर्ने तथा काममा पारदर्शिता अपनाउनाले विवाद उठने गुञ्जाईस पनि कम भएर जान्छ । शिक्षक जस्तो प्रवुद्ध वर्गको नेतृत्वमा चल्ने गरेका सामूदायिक विद्यालयहरूमा पठनपाठन नै प्रभावित हुने गरी विवाद लम्विनुलाई ‘शुभ संकेत’ भन्न सकिँदैन। आफूले भनेको र गर्न चाहेकै कुरा हुनुपर्छ भन्ने, वर्चस्व स्थापित गर्न चाहने सोचका कारण बढी जसो विवाद लम्बिने गरेका हुन्।
यही सोचका कारणले एक अर्कामाथि हुने गरेका प्रत्यारोपबाट गुटवन्दीले प्रश्रय पाउने अनि त्यसको भागिदार चाहीँ विर्दोष विद्यार्थीले बन्नु पर्ने अवस्थाको अन्त्य हुन आवश्यक छ ।
यसकालागि पद्धति मिचेर काम गर्ने परिपाटीमा समेत सुधार ल्याउनु पर्ने हुन्छ । विद्यालय बौद्धिक मन्थनको थलो बन्न सक्छ तर बाहुवल प्रयोगको स्थल बनाउन भन्ने मिल्दैन।