• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजको बजेट १ अर्व ११ करोड,  १४ करोड बक्यौता भुक्तानी गरिने 

राजविराजको बजेट १ अर्व ११ करोड,  १४ करोड बक्यौता भुक्तानी गरिने 
न्यूज टुडे
राजविराज, १ कार्तिक ।
राजविराज नगरपालिकाको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यबाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा बुधबार आयोजित एक समारोहका विच बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
कार्यक्रममा राजविराज नगरपालिकाका प्रबक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष  जयनारायण मण्डलले आर्थिक बर्ष २०८०/०८१ लागि नगरसभाबाट पारित विनियोजन विधेयक २०८० मा समाबेश  १ अर्व ११ करोड ३२ लाख ७८ हजारको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरे ।
विनियोजन विधेयक प्रस्तुत  गर्दै प्रबक्ता मण्डलले नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ र ०७९/०८० मा सम्पन्न गरेका तथा भुक्तानी नपाएका योजनाहरुको लागि १४ करोड बजेट विनियोजन गरेको बताए ।
कार्यक्रममा बोल्दै कार्यबाहक नगरप्रमुख इसरत परविनले विगतमा सम्पन्न कामको भुक्तानी गर्ने किसिमले दायित्व मुक्त नगरपालिका बनाउने उदेश्यकोसाथ बजेट नीति तथा कार्यक्रम ल्याइएको बताइन् ।
उनले काम गरेको पैसा दिनुपर्छ भन्ने मान्यताको साथ बजेट ल्याएको स्पष्ट पारिन् । त्यसका लागि कामको पुनः मुल्यांकन तथा अनुगमन गर्ने बताउदै कार्यबाहक नगरप्रमुख परविनले भुक्तानी पारदर्शी बनाउन  पत्रकारहरुलाई साथ सहयोगका लागि आग्रह गरिन ।
कार्यक्रममा सहभागी पत्रकारहरु ।। फोटो: न्यूज टुडे
उनले यस अघि कर्मचारीहरुको असहयोगले चाहेर पनि जनअपेक्षा अनुरुप काम गर्न नसकेको बताइन् । हाल नगरपालिकामा कार्यपालिका तथा कर्मचारीहरुको काम गर्ने टिम राम्रो भएको बताउदै उनले चालू आर्थिक बर्षदेखी जनगुनासो नआउने गरि काम हुने विश्वास व्यक्त गरिन ।
उनले नगरपालिकाबाट भएका कमिकमजोरीलाई सच्याउन निरन्तर खबरदारी गरि सहयोग गरिदिन पत्रकारहरुलाई आग्रह गरिन ।
कार्यबाहक नगरप्रमुख परविनले आर्थिक विकास तर्फ कृषि,पशुपंक्षी, रोजगार तथा आप्रवान, पुर्वाधार, बन, बाताबरण तथा विपद व्यवस्थापनलाई प्राथमिकता दिएको बताइन् । यसैगरी सामाजिक विकास तर्फ शिक्षा,स्वास्थ्य, महिला बालबालिका दलित, आदिवासी जनजाति, मधेशी, पिछ्डा बर्ग, हरुवाचरुवा, जेष्ठ नागारिक अपांगता भएकाहरुको उत्थान तथा विकासलाई बजेटले जोड दिएको उनले बताइन् । यस्तै गैर सरकारी संघ संस्था एवम् सामाजिक परिचालन युवा तथा खेलकुद, सहकारी, सूचना प्रविधि, राजस्व परिचालन, सार्वजनिक सेवा प्रवाह सुशासन क्षमता विकास तथा सरसफाइको कामलाई द्रुत गतिमा अगाडि बढाउने बजेट, नीति तथा कार्यक्रममा समेटिएको उनले बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले प्रयाप्त स्रोत साधान तथा जनशक्ति हुदाहुदै राजविराज नगरपालिका सरसफाइमा पछाडि परेको भन्दै चिन्ता व्यक्त गरे ।
सरसफाइका क्षेत्रमा भएको कमजोरीलाई उजागर गरि सुन्दर र सफा राजविराज नगरपालिका निर्माणमा पत्रकारहरुको  सहयोग अपरिहार्य रहेको उनले बताए ।
पत्रकारले मागेकै समयमा सूचना उपलब्ध गराउन कमि हुन नदिने बताउदै उनले नगरपालिकामा हुने बेतिथी अन्त्यका लागि पत्रकार महासंघ र पत्रकारहरुसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
दशै, दिपावली, छैठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सातौं नगरसभाबाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजानिकीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, पुर्व केन्द्रिय सदस्य अबधेश कुमार झा, शाखा सप्तरी अध्यक्ष श्रवण कुमार देव, सल्लाहकार मनोहर कुमार पोखरेल, प्रदेश परिषद सदस्य बृजमान तामाङ, कार्यसमिति सदस्य कृष्ण कुमार मण्डल, वरिष्ठ पत्रकार गणेशलाल देव, विनयलाल कर्ण, चन्दन कुमार यादव, सौरभ यादव, विन्दु कुमार यादवलगायतकाले बजेट नीति तथा कार्यक्रममा टिप्पणी तथा सुझाव दिदै शुभकामना मन्तव्य व्यक्त गरे ।
गत असोज १५ र १६ गते सम्पन्न राजविराज नगरपालिकाको नगरसभा भएको दुइहप्तापछि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।