• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

स्थानीयको अनशन जारी, डा. राउतले जनाए समर्थन 

स्थानीयको अनशन जारी, डा. राउतले जनाए समर्थन 
रामराजा प्रसाद सिह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकेको भन्दै स्थानीयवासीले थालेको अनिश्चितकालिन रिले अनशनलाई मंगलबार पनि निरन्तरता दिएको छ ।
स्थानीय राम कुमार दासको नेतृत्वमा जारी २४ घण्टे रिले अनशनलाई  (मंगलबार )पाँचौ दिनपनि निरन्तरता दिइएको हो ।
स्थानीयको आन्दोलनलाई सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम् जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समर्थन जनाएका छन् ।
अनशनकारीसंग मंगलबार भेटघाट गर्दै डा. राउतले स्थानीयले उठाएका माग जायज भएको भन्दै आफ्नो र पार्टीको पुर्ण समर्थन रहेको बताए ।  डा. राउतले स्थानीयले उठाएका माग सम्बोधनका लागि प्रतिनिधिसभामा कुरा उठाउने  तथा प्रतिष्ठान निर्माण कार्यको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको संघर्ष समितिका संयोजक समेत रहेका दासले जानकारी दिए ।
डा. राउतसंगै सप्तरी निर्वाचन निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य एवम् मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री  महेश प्रसाद यादवसमेत अनशनकारीहरुलाई भेट्न पुगेका थिए ।
शिलान्यास भएको २५ महिना वितिसक्दा पनि हुन नसकेको प्रतिष्ठानको निर्माण कार्यलाई यथासिघ्र अघि बढाउनु पर्ने, प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरुमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नु पर्ने, प्रतिष्ठान निर्माणका लागी आवश्यक बजेटको व्यवस्थापन गर्नु पर्ने लगायतका ५ बुँदे माग अघि सार्दै शुक्रवारदेखि सुरु गरेको रिले अनशन जारी नै रहेको उनले बताए ।
 पाँच वर्ष भित्रै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिसक्ने भनिए पनि सरकारले शिलान्यास गरेको २ वर्ष नाघि सक्दा पनि निर्माण नै सुरु नगरेको भन्दै उनले  आक्रोश व्यक्त गरे ।
  प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र  बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर)  निर्माण गर्ने बाहेक अरु केही काम भएको छैन, उनले भने, प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा चुनावी मुद्दा बनेको प्रतिष्ठान यतिबेला अलपत्र अवस्थामा रहेको र कसैले चासो नदेखाएपछी आन्दोलनमा उत्रिनु बाध्य भएका छौं ।
  एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुयल माध्यमबाट शिलान्यास गरेका थिए । तर २५ महिना वितिसक्दा पनि भवनको त कुरै भएन, एउटा इट्टा सम्म नहालिएको स्थानीयको भनाई छ ।
    प्रतिष्ठानको गजेन्द्र नारायण सिंह अस्पतालको एउटा कोठा लिएर संचालनमा ल्याइएको पुर्वाधार तयारी विकास समितीको कार्यालय अहिले बोर्डमा मात्र सिमित भएको छ । समितीका अध्यक्ष डा.रोहित पोखरेल प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेपछी अर्काे अध्यक्ष नियुक्त गरिएको छैन ।
    गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालिन मेडिकल सुपरिटेण्डेण्ट एवं प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि १ वर्ष यता कार्यकारी निर्देशकको पद  समेत रिक्त छ । यस्तै प्रष्ठिानमा कार्यरत ३ जना कर्मचारीको करार म्याद सकिएपछी प्रतिष्ठान कर्मचारी विहीन बनेको छ ।
    यद्दपी म्याद सकिएर लामो समय देखी तलब पाउन न सक्दा पनि आश्वासन कै भरमा कम्प्युटर अपरेटर नितु कुमारी दास कार्यालय आउने गरेको देखिन्छिन । उनी लामो समयदेखि तलब पाउन नसकेपनि प्रतिष्ठानको काम छिट्टै सूरु हुने र तलब पाउने आसमा कार्यालय आउने गरेको बताउँछिन् ।
    पदाधिकारी विहीन समितिको कार्यालयमा लाखौं रुपैया खर्चेर खरिद गरिएका समान थन्किएका छन् । प्रतिष्ठानको पुर्वाधार तयारी विकास समिती कार्यालयको लागि आर्थिक वर्ष २०७५÷०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैया बजेट विनियोजन भएको छ ।
 जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैया खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुँपैयाको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।