राजविराजमा गणतन्त्रवादी नेता स्व.रामराजा प्रसाद सिंहका नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको विषयलाई लिएर एक ताका निकै चर्चा चल्यो । त्यस क्रममा केही बजेट पनि निकासा भयो,केही काम पनि अगाडि बढाईयो । जिल्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने खबरले जनतामा उत्साह र खुशी पनि सञ्चार भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रतिष्ठानको भवन निर्माणको शिलान्यास पनि गरिसकेको अवस्थामा अहिले केही समयदेखि उक्त काम रोकिएको छ ।
सरकार परिवर्तनका साथसाथै यो विषय यति बेला ओझेलमा परेका कारण यसको भविष्य के हुने हो भन्ने जनमानसमा जिज्ञासा पनि उठ्न थालेको छ । विकासका दृष्टिले निकै पिछडिएको सप्तरी जिल्लाको विकासमा गति ल्याउन यस प्रतिष्ठानले सहयोग गर्नेछ भन्ने जनअपेक्षा थियो । सरकारका जिम्मेवार नेताले समेत यस कार्यलाई पूरा गर्ने भनि दिएको आश्वासनका कारणले पनि प्रतिष्ठानको भवन निर्माणले कार्यरुप लेला भन्ने विश्वास बढेको थियो । तर एकाएक यस विषयमा काम रोकिएका कारणले अहिले पुनः निराशा बढेको छ । जनताको विश्वासमाथि नै यसले कुठाराघात गरेको मान्न सकिन्छ । सरकारले विकासमा पछि परेको सप्तरीको विकासमा पनि ध्यान दिनु पर्दछ । प्रभाव र पहुँचको आधारमा भन्दा पनि विकासमा पछि परेको कुरालाई आधार बनाएर यस जिल्लामा पनि विकासका योजना सञ्चालनको आवश्यकता छ ।
प्रतिष्ठानको भवन निर्माणकालागि जग्गाको प्रबन्ध समेत भईसकेको अवस्थामा यसरी यस योजनाको काममा रोकावट आउनु सप्तरी प्रतिको अन्याय नै हो भन्दा अन्यथा नहोला । तसर्थ यस काममा निरन्तरताको आवश्यकता छ ।