कञ्चनरुप २८ असोज ।
संयुक्त बजार अनुगमन टोलीमाथि आक्रमण गरेको आरोपमा कन्चनरुप नगरपालिकाका दुईजना व्यापारीमाथि प्रहरीले मुद्दा दायर गरेको छ । कञ्चनरुप नगरपालिका ११का सहयोगी किराना स्टोरका संचालक शशीभूषण राउत र सोही ठाउँमा पान पसल गर्ने समरजित कुमार राउत विरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा दायर गरेको हो ।
पसल अनुगमन गर्न जाँदा गत बुधबार कञ्चनरुप नगरपालिका ११ सिमरामा अनुगमनकर्ताहरु उपर कञ्चनरुपका व्यवशायीहरुले आक्रमण गरेको घटनामा संलग्न भएको आरोपमा शुक्रबार उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुमाथि मुलुकी अपराध संहिताको दफा ११८ (१)मा उल्लेख गरिएको ‘अभद्र व्यवहार’सम्बन्धी मुद्दा।दायर गरि कारबाही थालिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी गजु सिद्धि बज्राचार्यले पक्राउ गरिएका दुवै जनामाथि अभद्र व्यवहार मुद्दामा कार्यवाही थालिएको बताए । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको छ, उनले भने, अभद्र व्यवहार मुद्दामा सामान्य भनाभन, झैझगडा, रुखो व्यवहार, आमने–सामने हुने कुराकानीलाई पनि ‘अभद्र व्यवहार’ मा प्रहरीले मुद्दा चलाउने गर्दछ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरमा दुवै जनालाई राखिएको कञ्चनरुप व्यापार संघका अध्यक्ष चन्दन रौनियारकाले बताए । उनका अनुसार शुक्रबार विहान करिब १० बजे दुवै जनालाई पक्राउ गरेको थियो ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योगका कार्यालय सप्तरी, सप्तरी उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मंचका प्रमुख तथा प्रतिनिधि लगायत भारदह र कंचनपुरका प्रहरी टोली एवम् संचारकर्मीहरुको सहभागिा रहेको थियो ।
दशैं, तिहारको वेला व्यवशायीहरु प्रयाप्त मात्रामा अखाद्य, अवैध तथा म्याद गुज्रेका सामानहरु विक्रि गरिरहेकोे उपभोक्ताहरुको गुनासो बढेपछि बजार अनुगमनलाई तीब्र पारिएका छन् । व्यापार चौपट भएको बेला दुःख दिने नियमतले अनुगमन गरिएको आक्रोशमा बुधबार सिमरामा व्यापारी र संयुक्त अनुगमन टोलीमाथि आक्रमण गरेको थियो ।
संयुक्त अनुगमन टोलीमाथि भएको आक्रमणमा घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका चालक विरेन्द्र साहसंग गाडीको साँचो खोसी शरिरको टाउको र पेटमा मुक्काले आक्रमण गरेका तथा अन्य अनुगमनकर्तासँग अभद्र व्यवहार गरेका थिए ।
चालक साहलाई सिमराका सहयोगी किराना पसलका संचालक शशी राउतले आक्रमण गरेको स्वयंम पिडित चालकले प्रजिअ किरण थापा समक्ष बताएका थिए ।
यता सिमराका व्यापारीहरुले कञ्चनपुर बजारबाट आएका व्यापार संघका जिम्मेदबार पदाधिकारीहरुले घटनामा प्रत्यक्ष रुपमा संलग्न भएपनि प्रहरीले कञ्चनरुप नगरपालिकाका जनप्रतिनिधिहरुको प्रत्यक्ष संलग्नतामा बचाउने र केहीलाई फसाउने खेल भएको बताएका छन् ।
कञ्चनरुप नगरपालिका ११का पूर्व वडाअध्यक्ष मोहम्मद जिब्रिलले प्रहरीले पक्राउ परेको दुवै जना व्यापारीलाई नछोडे सडक सर्घष गर्ने चेतावनी दिए ।
प्रहरीले घटनाका योजनाकारलाई छोडेर सिधासाधा व्यापारीलाई दशैंको मुखमा पक्राउ गरेर कारबाही गर्ने हो भने अव हामी सडकमा आन्दोलन गर्छौ, उनले भने ।