सप्तरीमा प्रहरीले ठूला चाडबाडलाई लक्षित गरेर सुरक्षा योजना तयार गरेको छ । चाडबाडको भिडभाडमा हुन सक्ने आपराधिक घटनालाई मध्यनजर गरी यस प्रकारको योजना ल्याईएको प्रष्टै छ । अपराधका साथसाथै दुर्घटनामा पनि बृद्धि हुन सक्ने सम्भावनालाई पनि ध्यानमा राखेर यस प्रकारको योजना ल्याईएको हो ।
विशेषतः प्रहरी मात्रको एकल प्रयासमा अपराध तथा दुर्घटना नियन्त्रण भईहाल्छ भन्ने सोचलाई परिवर्तन गरी यसमा जनस्तरबाट पनि सघाउन जरुरी छ । सुरक्षाकालागि जिल्ला प्रहरी कार्यालयले विभिन्न प्रकारका प्रहरी टोली परिचालन गर्ने तथा अपराध भएको थाहा पाएको केही मिनेटमै प्रहरी पुग्ने जानकारी पत्रकार सम्मेलन मार्फत नै गराईसकेको छ । तथापि अपराध हुन सक्ने सम्भावनाका बारेमा वा अपराध भएलगत्तै प्रहरी समक्ष जानकारी दिने नागरिकको पनि कर्तव्य हो । चाड मनाउनकालागि कतिपय मानिस बाहिर जाने र त्यही मौकामा घर फोरेर चोरले चोरी गर्न सक्ने कुरालाई पनि नकार्न सकिँदैन । विगतमा पनि यस प्रकारका आपराधिक घटना घटिसकेका कारण भविष्यमा पनि यस्तो हुन सक्छ भनेर सजगता अपनाउन सकियो भने यसले चोरी रोक्नमा नै सघाउ पुग्दछ । भएका साधन स्रोतको परिचालन गरेर प्रहरीले सुरक्षाकालागि चौबिसै घण्टा ड्युटी त गर्दछन् । तर पनि प्रहरीका आँखा छलेर अपराधीले आपराधिक घटना घटाउन सक्दछन् ।
त्यसैले प्रहरीलाई जनस्तरबाट पनि सहयोग गर्न सकियो भने यसले अपराध नियन्त्रणमा अझै प्रभावकारिता आउन सक्दछ । अपराध नियन्त्रणमा कमी आउँदा नै शान्ति तथा अमन चयन कायम हुन सक्नेछ ।