न्यूज टुडे
राजविराज, २८ असोज ।
सप्तरीको शम्भुनाथ नगरपालिका ३ स्थित ट्राफिक बजारमा आइतबार स्थानीय तहमा अपराध न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा संयुक्त रुपमा अपराध न्युनिकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम आयोजना गरेको हो ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यको अध्यक्षतामा तथा प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख आतिथ्यमा एवम् शम्भुनाथ नगरपालिकाकी कार्यबाहक मेयर अनिता कुमारी चौधरीको विशिष्ट आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रम बोल्दै प्रजिअ थापाले अपराध न्यूनीकरणमा सबैले सकारात्मक भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रहरी प्रमुख एसपी बज्राचार्यले अपराधिक घटनाको सुइको पाउनसाथ प्रहरीलाई खबर गर्न आग्रह गरे ।
कार्यबाहक नगरप्रमुख चौधरीले स्थानीय तहमा अपराध नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक तपाईको सुराक्षार्थ ट्राफिक प्रहरीको प्रयास नाराका साथ आयोजित कार्यक्रममा शम्भुनाथ नगरपालिका अन्तर्गतका स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीहरु तथा भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।