फत्तेपुर, २८ असोज
उदयपुरको चौदण्डीगढी नगरपालिका ४ स्थित बर्खेडाडामा नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । बसाहा फुटबल क्लबद्वारा नारदमुनी थुलुङ्को स्मृतिमा संचालित ९ औं सस्करण शनिबारदेखि देखि सुरु भएको हो ।
बसाहा फुटबल क्लबको आयोजनामा स्थानीय नारद मुनी थुलुङ स्मृति रंगशालामा संचालित प्रतियोगितामा ८ वटा टिमहरुले सहभागिता जनाएको आयोजक कमिटीका सचीव लाखमान राईले बताए ।
प्रतियोगिताको अन्तर्गत उद्घाटन खेलमा आयोजक बसाहा फुटबल क्लब उदयपुर र एभरेष्ट एफ.सि सुनसरी बिच भएको खेलमा पहिलो हाफमा दुबै टिम गोलरहित रहेता पनि हाफ टाइम पछि खेल सुरु भएको ५ औं मिनेटमा बसाहाका खेलाडीले प्रहार गरेको बल एभरेष्ट क्लब सुनसरीका जर्सि नम्बर ४ का योगेस राईको खुट्टामा लागेर आत्मघाती गोल भएपछि आयोजकले १-० को अग्रता लिएको थियो।
खेलको १९ औं मिनेटमा बसाहा क्लबका जर्सि नम्बर २३ का जस बहादुर राईले गोल गर्दै आफ्नो टिमलाइ २-० को अग्रता दिलाउन सफल भए।
खेलको २६ औं मिनेटमा सुनसरीका जर्सि नम्बर १० का निशान लिम्बुले एक सान्त्वना गोल गर्दै आयोजक बसाहा २-१ गोल अन्तरले बिजय भएको थियो ।
बसाहा क्लबका अध्यक्ष गौतम राईको अध्यक्षतामा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले गरेका थिए।
प्रतियोगिताको दोस्रो खेल आइतबार न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र दमक फुटबल एकेडेमी झापा बिच हुने आयोजकले जनाएको छ।
नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगितामा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी ,एभिनीयर फुटबल क्लब काठमाडौ,दमक फुटबल एकेडमी झापा, कटारी फुटबल क्लब उदयपुर ,एभरेष्ट फुटबल क्लब सुनसरी,चारतारे फुटबल क्लब मोरङ ,बागमती फुटबल क्लब सर्लाही र आयोजक बसाहा फुटबल क्लबले सहभागिता जनाएको छ ।
प्रतियोगितामा विजेता उप विजेता टिमलाइ क्रमशः नगद ४ लाख १ हजार र २ लाख १ हजार, ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने बसाहा फुटबल क्लबका अध्यक्ष राईले जानकारी दिए।