२०८० सालको बडा दशैं सुरु भएको छ । आज पहिलो दिन घटस्थापनाबाट दशैंमा गरिने नवदुर्गा भवानीको बिधिवत पूजा सुरु भएको हो । देवी मन्दिर तथा शक्ति पीठहरुमा पूजाआजा तथा दर्शनकालागि आउने भक्तजनहरुको घुइँचो लाग्ने गरेका कारण दशैंको चहलपहल आजका दिनदेखि बढ्ने गरेको पाईन्छ ।
हाम्रा चाडपर्वहरुको खास सन्देश पनि रहने भएका कारण तिनको अनुशरण गर्न सकियो भने यसबाट मानव कल्याण हुने जनविश्वास पनि छ । विशेष गरी असत्यमाथि सत्यको विजयका रुपमा मानिने दशैंमा यसको सन्देशको परिपालनाकालागि जोड दिईन्छ । हुनत बढ्दो आधुनिकताको प्रभावका कारण हाम्रा सांस्कृतिक मान्यता तथा परम्पराहरु ओझेलमा नपरेका होईनन् । तर हामीले हाम्रा मौलिक परम्पराबाट आफ्नो पहिचान कायम गर्न सक्ने भएका कारण तिनलाई जीवन्त राख्ने जिम्मेवारी पनि हाम्रै हो । दशैंमा क्षमताले नभ्याए पनि बढी खर्च गरेर धुमधामसित दशैं मनाउनु पर्छ भन्ने पनि कतिपयको धारणा रहने गरेको छ । ऋणै काढेर भए पनि दशैंमा खर्च गर्ने गरेको पनि देखिन्छ । ऋण लिएपछि त्यसलाई तिर्न पनि आवश्यक हुन्छ । तसर्थ चाड मनाउने नाममा ऋणको भारी बोक्नु वुध्दिमानी हुन सक्दैन । क्षमता अनुसारको खर्च गरेर पनि चाडबाड मनाउन नसकिने होईन ।
त्यसैले अरुको देखासिकी गरेर फजुल खर्च गर्ने,आडम्बर देखाउनेतिर लाग्नुभन्दा पनि आफूले सक्ने जति मात्र खर्च गर्ने तथा दशैंको सन्देशलाई व्यवहारमा उतार्नेतिर लागियो भने चाडबाडको वास्तविक आनन्द पनि त्यसमा नै पाईने छ । वर्षेनी आउने दशैं आनन्दका साथ मनाउन सकियोस्, ऋणको भारी बोक्ने सोच पलाउन नपाओस् भन्नेतिर पनि सजगताको आवश्यकता छ ।