न्यूज टुडे
राजविराज,२६ असोज ।
सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डिराज नेउपानेले दशै, तिहार लगायतका चाडपर्वको समयमा शान्ति सुरक्षा थप प्रभावकारी बनाउने बताएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा शुक्रबार पत्रकारहरुसंग कुराकानी गर्दै उनले चाडपर्वलाई लक्षित गरि सुरक्षा व्यवस्था कडा पारिएकोले शान्ति सुरक्षामा कमि नहुँने दावी गरेका हुन् ।
उनले चाडपर्वलाई लक्षित गरि पोशाक तथा सादा पोशाक गरि ६ सय ९० जना प्रहरी कडाइकासाथ परिचालन गर्दै सुरक्षामा सुधार ल्याउने प्रयास गरिएको बताए ।
दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा कार्ययोजना बनाइएको प्रहरी प्रबक्ता डिएसपी नेउपानेले बताए ।
असोज २८ गते घटस्थापनाको दिन देखि सुरक्षा व्यवस्था थप कडाई गरिने बताउदै उनले कुनै पनि अपराधिक घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने गरी प्रहरी परिचालन गर्ने किसिमले सुरक्षा योजना बनाइएको बताए । त्यसका निम्ति पोशाक तथा सादा पोशाकका ६ सय ९० प्रहरी खटिने उनले जानकारी दिए ।
अपराध नियन्त्रणका लागि पैदल, साइकल, मोटरसाइकल, पेट्रोलिंग गाडी, पिकेट, क्यूआरटी, एम्बुस परिचालन गरिने र प्रमुख चोकहरुमा चेकिङको व्यवस्था मिलाइनेछ, डिएसपी नेउपानेले भने, रिजर्भ टोली, स्टेण्डबाई टोली र कमाण्ड पोष्टको व्यवस्था गरी २४ औं घण्टा सुरक्षा व्यवस्था मिलाइनेछ ।
चाडपर्वको समयमा सामाजिक अपराध, चोरी, बलात्कार, मानव बेचबिखन, जुवाजन्य खेलहरु, पिक पकेटिङ, लुटपाट, लागुऔषध ,मदिरा सेवन, कालोबजारी लगायतका घट्नामा वृद्धि हुने हुँदा समुचित ढँगले प्रहरी परिचालन गरिने डिएसपी नेउपानेले बताए ।
चाडवाडलाई लक्षित गरि प्रहरी प्रमुख एसपी गजुसिद्दी बज्राचार्यको नेतृत्वमा ३५ जना कमाण्ड पोष्ट, आफू नेतृत्वमा ३५ रिजर्भ टोलि समेत बनाईएको डिएसपी नेउपानेले जानकारी दिए ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन २४ वटा मोटरसाइकलबाट समेत गस्ती गर्ने व्यवस्था मिलाएको उनले बताए ।
छिन्नमस्ता, कंकालिनी मन्दिरमा विशेष सुरक्षा व्यवस्था मिलाएको जानकारी दिदै उनले सरकारी कार्यालय, बैंक तथा बित्तीय संस्था र दशै मनाउन गएका खाली घरको समेत सुरक्षा प्रबन्ध मिलाएको बताए ।
घर खाली गरेर दशै मनाउन गएको बारे सामाजिक संजालमा नराख्न आग्रह गर्दै उनले घरमा ताल्चा मारेर टाढा जानुपरे प्रहरीलाई जानकारी दिए घरको सुरक्षामा प्रहरी खटाइने बताए ।
विषेश सुरक्षा योजनामा सिमा नाकामा कडाई, यात्रु सहायता कक्षको स्थापना गरी यात्रुसँग बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्नेलाई कारबाही गर्ने योजना बनाएको उनले बताए ।
जिल्लाभरि रहेका सबै प्रहरी युनिटले अन्य सुरक्षा निकायसँग समन्वय गरी सबारी व्यवस्थापन, आर्थिक कारोबार हुने स्थानहरुको सुरक्षा, लागुऔषध तथा मदिरा नियन्त्रण, मेला पर्व तथा विशेष धार्मिक स्थलको सुरक्षा, सिमा नाकाहरुमा चेकजाँचमा कडाई गरि सीमावर्ती अपराध तथा भन्सार छली, चोरी तस्करी नियन्त्रण गर्ने, यात्रु सहायता कक्ष निर्माण गर्ने, झैं–झगडा, जुवातास, मापसे नियन्त्रणमा समन्वय र सहकार्य गर्ने, सडक दुर्घटना नियन्त्रणका लागी ट्राफिक चेकजाँच कडाइ गर्ने चाडपर्व लक्षित सुरक्षा योजना बनाइएको उनले जानकारी दिए ।
चाडपर्वलाई लक्षित गरि विशेष सुरक्षा योजना बनाएकोले जिल्लाको शान्ति सुरक्षामा कमि आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले सुरक्षा व्यवस्थालाई सार्थक र प्रभावकारी बनाउन संचारकर्मीसहित आम जनताको साथ सहयोग अपरिहार्य हुने बताए ।