सप्तरीका बजारमा म्याद सकिएका,ढुसी आएका तथा अखाद्य रंगको प्रयोग गरिएका मिठाई बिक्री हुने गरेको उपभोक्ताबाट गुनासो उठ्दै आएको छ । विशेष गरी दशैं,तिहार जस्ता चाडबाडका समयमा मन्दिर आसपासका बजारहरुमा यस्ता गुणस्तरहीन मिठाई बढी बिक्री हुन थालेका छन् ।
मन्दिरमा दर्शनकालागि पुगेका भक्तजनहरुले किनेर प्रसादका रुपमा चढाउने तथा घर लिएर जाने गरेका कारण भिडभाडमा यस्ता गुणस्तरहीन मिठाई बेच्ने गरेको पाईएको छ । केही दिन अघि मात्र छिन्नमस्ता मन्दिर आसपासका पसलबाट यस्तै गुणस्तरहीन मिठाई मन्दिर समितिकै सक्रियतामा नष्ट गरिएको थियो । भारतबाट सस्तोमा ल्याएर बेच्न राखिएको यस्तो मिठाई ठूलो परिमाणमा नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।
यस्तै गुणस्तरहीन तथा अखाद्य रंगको प्रयोग भएको मिठाई भारदहस्थित कंकालिनी मन्दिर आसपासका पसलबाट पनि बिक्री हुन थालेपछि अनुगमन टोलीले नष्ट गरेको छ । टोली पुगेका ठाउँमा त यस प्रकारका कैफियत फेला परेको छ तर नपुगेका ठाउँमा अन्यत्रका बजारमा पनि यस्तो भएको नहोला चाहिँ भन्न सकिन्न । चाडबाडका समयमा यसरी उपभोक्तालाई स्वास्थ्यकालागि घातक यस्ता गुणस्तरहीन मिठाई बेचेर कमाउन पल्केकाहरुमाथि निगरानी बढाउने तथा कारवाही चलाउनेतिर नलाग्ने हो भने यो विकृति अझै बढेर नजाला भन्न सकिन्न । चाडबाडका समयमा जिल्ला अनुगमन समितिले कतै कतै बजार अनुगमन त गर्ने गरेको छ । तर नियमित अनुगमनको व्यवस्था नभएका कारण फेरि पनि यस प्रकारका विकृति दोहोरिने गरेका छन् । आफूले उत्पादन नगरी भिडभाडका समयमा बाहिरबाट मगाएर समेत यस्तो घटिया सामान बेच्न थालेपछि यसलाई गम्भीर रुपमा लिनु पर्ने भएको छ ।
तोकेको मूल्य तिरेपछि गुणस्तरयुक्त सामान किन्न पाउने उपभोक्ताको अधिकार पनि भएका कारण उक्त अधिकार हनन गर्ने यस्तो कार्य अबैध पनि भएका कारण विशेषतः स्थानीय तह,स्थानीय प्रशासनले समेत यस प्रति चासो लिन जरुरी छ ।