मुलुकका विभिन्न सडक खण्डमा यति बेला स्तरोन्नतिको काम थालिएको छ । तर जुन गतिका साथ काम हुन आवश्यक थियो त्यस बमोजिम नभएका कारणले सवारी साधन सञ्चालनमा कठिनाई भईरहेको छ । यसका साथसाथै यात्रुहरुले पनि सास्ती ब्यहोर्नु परिरहेको अवस्था विदितै छ ।
स्तरोन्नतिकालागि काम सुरु गरिएका सडकहरु एकातर्फ भत्काएर बाँकी खण्डमा मात्र सवारी साधन आउजाउ गर्नकालागि ठाउँ छुट्ट्याईएका कारण सडक साँघुरो बनेको तथा दुईतर्फी सवारी साधन चलाउन सकस परिरहेको छ । यसका साथै धूलोले गर्दा आसपासका वस्तीमा समेत पिरोलिनु पर्ने अवस्था छ । काम सम्पन्न गर्ने समय तथा हालसम्म भएको कामको प्रगतिको तुलना गरी काममा भईरहेको बिलम्ब प्रति ठेकेदार कम्पनीको ध्यानाकर्षण गर्ने,कामको गति बढाउनकालागि ताकेदा गर्नेतिर पनि चासो लिन जरुरी भएको छ । सडक तथा पुल निर्माणका अधिकांश काममा यस्तै बिलम्ब रहने गरेको छ । ठेक्का लगाउँदा नै कामको समयसीमा तोकिएको हुन्छ । तर समयमा काम नसकाएर बिलम्ब गर्ने अनि विभिन्न बहानामा समय थप गर्ने परिपाटीका कारणले अनावश्यक हैरानी ब्यहोर्नु पर्ने अवस्था आएको छ । अव दशैं, तिहार, छठ, नेपाल सम्बत् लगायतका ठूला चाडपर्व आउँदैछन् । यस्तो समयमा यात्रुहरुको आवागमन बढ्ने कारणले सडकहरुमा पनि सवारी साधनको चाप बढ्ने गर्दछ ।
सडकको अवस्था ठीक नरहेका कारण यस्तो समयमा दुर्घटना पनि बढ्ने सम्भावनालाई नकार्न सकिँदैन । कतिपय सडकमा मर्मत सम्भारका सानातिना काम पनि गर्न जरुरी छ । तर तिनको मर्मत अहिले पनि नभएको अवस्था छ । दुर्घटनाको एक प्रमुख कारण सडकको बिग्रेको अवस्था पनि हो । तसर्थ दुर्घटनाको दुखद् अवस्था आउन नपाओस् भन्नाकालागि समयमा नै सडक मर्मत तर्फ पनि ध्यान पु¥याउन आवश्यक छ ।