जसरी व्यक्तित्वको सर्वाङ्गीण विकासका लागि शिषा अपरिहार्य मानिन्छ उसै गरी शिक्षामा नैतिकताको विषय पनि रहनु आवश्यक छ । आजकालको शिक्षा व्यवस्थामा मानसिक विकासलाई नै सर्वाधिक महत्व दिने गरिएको पाईन्छ ।
शारीरिक विकासका लागि योग, ब्यायामदेखि विभिन्न खेलकूदको व्यवस्था गरिएको हुन्छ । तर व्यक्तिको नैतिक उत्थान कसरी हुन सक्छ भन्ने कुरालाई सर्वथा उपेक्षा गरिन थालेको छ । व्यक्ति परिवारदेखि समाजसम्म नै नैतिक मूल्य मान्यताको आवश्यकता रहन्छ । व्यक्तिमा सुशंस्कारको विकासका लागी नैतिक शिक्षा अपरिकार्य छ । तर आजको बढ्दो आधुनिकताको प्रभाव, खुला समाज तथा उपभोक्तावादी संस्कृतिका कारण परिवारमा समेत नैतिक मूल्य मान्यता हराउन थालेको छ । यो गम्भीर चिन्ताको विषय हो । नैतिक ज्ञानका साथ कुनै पनि व्यक्तिको जन्म भएको हुँदैन । माता पिता, शिक्षक, अग्रज एवम् मित्रजनबाट पछि क्रमशः नैतिकज्ञान प्राप्त हुने हो । नयाँ चेतनाको उदय साथै जीवनको गहिराईका बारेमा जान्न, कर्तव्यको पहिचान गर्नका लागि नैतिक शिक्षा नै जरुरी मानिन्छ । व्यक्तिमा सत्कर्मप्रति अभिप्रेरित गराउनका साथै समाज र समग्र राष्ट्रकै उत्थानका लागि परोक्ष रुपमा नैतिक शिक्षाबाट नै उत्प्रेरणा प्राप्त हुन्छ । बढ्दो उपभोक्तावादी सोचका कारणले अहिले भ्रष्टाचार, दुराचार, छलकपट तथा विभिन्न अपराधका घटनाले प्रश्रय पाउन थालेका छन् । यस्तो प्रवृत्तिले व्यक्तिमा अहंकार र प्रतिशोधलाई बढावा दिनाका साथै सामाजिक मूल्य मान्यताको समेत ह्रास हुन्छ ।
विद्यालयको पाठ्यक्रममा विगतमा रहेको नैतिक शिक्षाको विषयलाई अचेल हटाईएको देखिँदै छ । यसलाई पाठ्यक्रममा सामेल गरिनु पर्नेमा विभिन्न क्षेत्रबाट माग हुन थालेको कुरा समेतलाई दृष्टिगत गर्दै पाठ्यक्रम सुधारको आवश्यकता छ । व्यक्तिको चरित्र निर्माणसित समेत जोडिएको नैतिक शिक्षाले कसैको अहित गरेको छैन र गर्दैन पनि । मर्यादास्थिति उल्लंघन नहोस्, थितिका पालना होस् भन्नका लागि पनि यसलाई परित्याग गर्न मिल्दैन ।